कैलाली भन्सार : वार्षिक लक्ष्यभन्दा बढी राजश्व संकलन

लोकपथ
130
Shares

शेरबहादुर ऐर/धनगढी । कैलाली भन्सार कार्यालयले चालू आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ८ अर्ब २१ करोड ७३ लाख ७१ हजारको राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा कार्यालयले असारको दोस्रो साताभित्रै लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ मा लक्ष्यभन्दा २७ प्रतिशत कम राजश्व संकलन गरेको कार्यालयले चालू आर्थिक वर्षको असारको दोस्रो सातामै लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार कार्यालयले ८ अर्ब ४३ करोड ६९ लाख ३८ हजार राजश्व संकलन गरेको छ ।

कार्यालयले सबैभन्दा बढी राजश्व फागुन महिनामा संकलन गरेको छ । फागुनमा ६९ करोड ८६ लाख ३१ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ८३ करोड २५ लाख ९३ हजार रुपैयाँ (१ सय ५१ प्रतिशत) राजश्व संकलन गरेको छ ।

कार्यालयले सबैभन्दा कम वैशाख र जेठ महिनामा राजश्व संकलन गरेको छ । कार्यालयले वैशाखमा ७९ करोड ९० लाख ९८ हजार र जेठमा ८० करोड ७९ लाख ४३ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, बैशाखमा ७१ करोड १७ लाख ८० हजार (८९ प्रतिशत) र जेठमा ५१ करोड ५९ लाख ४४ हजार (६३ दशमलब आठ प्रतिशत) राजश्व संकलन गरेको छ । असारमा ६३ करोड २५ लाख ४६ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा दोस्रो सातासम्ममा २८ करोड ८८ लाख २४ हजार (४५ दशमलव छ प्रतिशत) राजश्व संकलन गरिसकेको छ ।
कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फणिन्द्र खतिवडाले जारी निषेधाज्ञाका कारण वैशाख र जेठमा लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको बताए । उनले भने- “वैशाख महिनामा मात्र लक्ष्य अनुसारको राजश्व संकलन भएको भए हामीले असारसम्म लक्ष्यभन्दा एक सय ३० प्रतिशत बढी राजश्व संकलन गर्न सक्थ्यौं ।”

बढ्दो कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्न स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । भन्सार अधिकृत खतिवडाले निषेधाज्ञाका कारण राजश्व संकलन प्रभावित भएको बताए ।

आर्थिक वर्ष २०७६/७७ मा भन्सार कार्यालयलाई छ अर्ब ७० करोड ३१ लाख ६६ हजार राजश्व संकलन गर्ने लक्ष्य दिईएको थियो । कार्यालयले चार अर्ब ९२ करोड १० लाख पा“च हजारमात्र राजश्व संकलन गरेको थियो । जुन कुल लक्ष्यको ७३ दशमलव ४ प्रतिशत हो । गत वर्ष सरकारले चैत ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन जारी गरेको थियो । सो समयमा मालबाहक सवारी साधन, पेट्रोलियम पदार्थमात्र नाकाबाट भित्रिएका थिए ।

कैलाली भन्सार कार्यालयबाट पेट्रोलियम पदार्थ, निर्माण सामग्री, यातायातका सवारी साधन, खाद्यान्न, हार्डवेयरका सामग्री लगायतका सामान आयात हुने गरेको छ ।

यस्तै, कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालयले राजश्व संकलनमा वार्षिक लक्ष्य पार गरेको छ ।

सत्ती भन्सारले चालू आर्थिक वर्षको ११ महिनामा १४ करोड ५० लाख रुपैयाँ“ राजश्व संकलन गरेको जनाइएको छ । सत्ती भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा छ करोड सात लाख रुपैया“ र पछि बढाएर १४ करोड २३ लाख रुपैयाँ राजश्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो ।

दुई वर्षअघि मात्र स्थापना भएको सत्ती भन्सारले गत आर्थिक वर्षभरिमा ५ करोड ८० लाख ७ हजार रुपैयाँ मात्रै राजश्व संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?