सुदूरपश्चिममा कोरोना : ५०-६० वर्ष उमेरका संक्रमितको मृत्युदर अधिक

लोकपथ
299
Shares

शेरबहादुर ऐर-कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरूमा ५० देखि ६० वर्ष उमेरका व्यक्तीहरूको संख्या अधिक रहेको तथ्यांकहरूले देखाएको छ ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु हुनेहरू देशभरी ६० वर्षभन्दा माथि उमेर समुहको रहेको जनाएको छ । तर, सुदूरपश्चिम प्रदेशमा भने ५१ देखि ६० वर्ष उमेर समुहका संक्रमितहरूको मृत्युदर अधिक रहेको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार कोरोनाको दोस्रो भेरियन्टबाट सुदूरपश्चिम प्रदेशमा बैशाखदेखि जेठ महिनाको अन्तिमसम्म २० हजार पाँच सय ८७ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकामध्ये चार सय ९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट पुरुष मृत्युदर ५३ प्रतिशत रहेको थियो । सुदूरपश्चिम प्रदेशमा दुई सय ३४ एन्टिजेन र दुई सय ६२ पिसिआर परिक्षणबाट कोरोना पुष्टि भएका व्यक्तिहरुको मृत्यु भएको उल्लेख छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५० देखि ५९ उमेर समुहका दुई हजार दुई सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा एक सय १८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । यो कुल मृत्यु संख्याको २३ दशमलव सात प्रतिशत हो ।

स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट ६१ देखि ७० उमेर समुहका ८७ व्यक्तिको मृत्यु भएको थियो । त्यस्तै, ७१ देखि ८० उमेर समुहका ६३ जना, ८१ देखि ९० उमेर समुहका २० जना र ९१ देखि एक सय उमेरसमुहका तीन गरी दुर्ई महिनामा दुई सय ९१ जनाको मृत्यु भएको छ ।

त्यस्तै, प्रदेशमा ४० देखि ५० उमेर समुहका तीन हजार तीन सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ९४ जनाको मृत्यु भएको जनाइएको छ ।

कोरोनाबाट १० वर्ष मुनि उमेरका एक जना, ११ देखि २० वर्ष उमेर समुहका चार र २१ देखि ३० उमेर समुहका २३ जनाको मृत्यु भएको थियो । प्रदेशमा ३१ देखि ४० उमेर समुहका ८३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

युवा समुहमा बढी संक्रमण :

सुदूरपश्चिम प्रदेशमा दुई महिनामा २० हजार बढी व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएकोमा बढी २० देखि २९ उमेर समुहमा संक्रमण भएको उल्लेख छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार दुई महिनामा सात हजार एक सय ९७ महिला र १३ हजार तीन सय ९० पुरुष गरी २० हजार पाँच सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा २० देखि २९ उमेर समुहका दुई हजार एक सय १८ महिला र तीन हजार छ सय ७१ पुरुष गरी पाँच हजार सात सय ८९ जनामा संक्रमण पुष्टि भएको थियो ।

निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार ३० देखि ३९ उमेर समुहका एक हजार सात सय ६४ महिला र तीन हजार छ सय पाँच पुरुष गरी पाँच हजार तीन सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४० देखि ४९ उमेर समुहका एक हजार एक सय ३० महिला र दुई हजार दुई सय ५७ पुरुष गरी तीन हजार तीन सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रदेशमा जन्मदेखि नौ वर्ष उमेर समुहका एक सय ७७ बालिका र दुई सय ७२ बालक गरी चार सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १० देखि १९ उमेर समुहका छ सय २८ महिला र नौ सय ८४ पुरुष गरी एक हजार छ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उमेर समुहअनुसार ६० वर्षभन्दा माथिको मृत्यु दर बढी रहेको उल्लेख गरे अनुसार प्रदेशमा ६० देखि ६९ उमेर समुहका तीन सय ५० महिला र छ सय ४८ पुरुष गरी नौ सय ९८ व्यक्ति, ७० देखि ७९ उमेर समुहका दुई सय १६ महिला र तीन सय २८ पुरुष गरी पाँच सय ४४ व्यक्ति, ८० देखि ८९ उमेर समुहका ५१ महिला र ९२ पुरुष गरी एक सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ९० देखि सय उमेर समुहका पाँच महिला र १० पुरुष गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?