काठमाडौं । बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी बुधवार मध्यरातबाट ‘फ्रि एजेन्ट’ भएका छन्।
जुन ३० मा बार्सिलोनासँग औपचारिक रूपमा सम्झौता अन्त्य भएसँगै मेस्सी आज बिहीवारबाट ‘फ्रि एजेन्ट’ अर्थात् कुनै पनि क्लबसँग अनुबन्धित छैनन्। यद्यपि स्पेनिश क्लब बार्सिलोनाका अध्यक्ष जोवान लापोर्टा भने मेस्सीले नयाँ सम्झौतामा हस्ताक्षर गर्ने कुरामा विश्वस्त देखिन्छन्।

सन् २००० देखि बार्सिलोनामा रहेका मेस्सी दुई दशक पछि ‘फ्रि एजेन्ट’ भएका हुन्। ३४ वर्षीय ग्लोबल आइकन मेस्सीको भविष्यमा धेरै प्रश्न चिन्ह उठेका छन् भने विश्वकै ठूला क्लबहरू उनको हस्ताक्षरको लागि तछाड मछाड गरिरहेका छन्।
यसै बीच बार्सिलोनाका अध्यक्ष लापोर्टाले भने मेस्सीसँग नयाँ सम्झौताका लागि तयारी गरिरहेको बताए। “हामी मेस्सीलाई यसै क्लबमा राख्न चाहन्छौं, समाधान खोज्ने तयारीमा लागि परेका छौं”, लापोर्टाको भनाई छ।
सन् २०१७ मा पछिल्लो पटक सम्झौता नवीकरण गरेका मेस्सीले पछिल्ला चार वर्षमा पाँच सय मिलियन युरो तलबका रूपमा थापेका छन्। अर्थात् उनलाई कुनै पनि क्लबमा अनुबन्धन गर्नु आर्थिक रूपमा धेरै महँगो सावित हुन जान्छ। यद्यपि मेस्सी एक ब्रान्ड हुन् र उनको आगमनले कुनै पनि क्लबको ‘मार्केट भ्यालु’ उच्च अवस्थामा पुग्ने कुरामा दुई मत छैन। र ‘मोडर्न डे फुटबल’मा अन्धाधुन्ध राशि खर्चिएर खेलाडी अनुबन्धन गर्ने प्रवृत्ति साधारण नै बनिसकेको छ।

यस्तो अवस्थामा मेस्सी जस्ता खेलाडीलाई ‘फ्रि ट्रान्सफर’मा भित्राउन सक्नु सबै क्लबका लागि एक किसिमको सफलता नै हुनेछ। अझै आफ्नो व्यावसायिक फुटबल एउटै क्लब, बार्सिलोनाबाट मात्रै खेलका मेस्सी अरु कुनै क्लब जानु एउटा ऐतिहासिक कदम पनि हुने भएकाले विश्व भरिका क्लब यस्तो सुवर्ण अवसर खेर फाल्न चाहँदैनन्।
गत सिजन मेस्सी र बार्सिलोनाका पूर्व अध्यक्ष जोसेप बार्टेमाउ बीच सम्बन्ध चिस्सिंदा मेस्सीले क्लब छाड्ने लगभग तय भइसकेको थियो। त्यस यता उनको भविष्यमा सधैं प्रश्न चिन्ह लागिरहेको छ।

अझै कोभिड-१९ को महामारीले आर्थिक रूपमा निकै प्रभावित क्लब हो बार्सिलोना। पछिल्लो १८ महिना देखि आफ्नो खेलाडीहरूको तलब कटौतीमै लागिरहेको क्लबलाई मेस्सीको सम्झौता नवीकरण सजिलो भने हुनेछैन। तर यस सिजन बार्सिलोनाले सावधानी अपनाउँदै ‘फ्रि ट्रान्सफर’मा केही चर्चित तथा उत्कृष्ट खेलाडीहरू भित्राएको छ। पछिल्ला दुई सिजन देखि ला-लिगाको उपाधि जित्न नसकेको बार्साले सर्जियो अग्वेरो, एरिक गार्सिया र मेम्फिस डिपाएलाई ‘फ्रि ट्रान्सफर’मा अनुबन्धित गरिसकेको छ।
सन् २०१९ देखि ला-लिगा उपाधि जित्न नसकेको बार्सिलोनाले सन् २०१५ मा पछिल्लो पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो। जित अपरिहार्य मान्ने ६ पटक ‘बलोन् डे ओर’ विजेता मेस्सीलाई बार्सिलोनाले यस वर्ष ला-लिगा र च्याम्पियन्स लिग दुवैको बाचा गराउन सके उनी बार्सामै बस्न पनि सक्छन् तर त्यसो गर्न पनि गार्हो छ।

युरोपियन फुटबलमा बार्सिलोनाको दबदबा पहिले जस्तो छैन। सन् २०१७/१८ को च्याम्पियन्स लिगमा इटालियन क्लब रोमा, सन् २०१८/१९ मा इंग्लिश क्लब लिभरपुल, सन् २०१९/२० मा जर्मन क्लब बायर्न म्युनिख र सन् २०२०/२१ मा फ्रेन्च क्लब पीएसजीले बार्सालाई लज्जास्पद तरिकाले च्याम्पियन्स लिगबाट ‘नक आउट’ गरेका छन्। त्यस्तै सन् २०१९/२० मा रियल मड्रिड र यसै सिजन एथ्लेटिको मड्रिडले ला-लिगा उपाधि जित्दा मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले दुई वर्षमा मात्र एक ‘कोपा डेल रे’को उपाधि जितेको छ।
यी सबै कुराले मेस्सीको भविष्य अन्योलमै देखिन्छ। इंग्लिश क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पीएसजी मेस्सीको हस्ताक्षरका लागि लागिपरेका छन्। आउँदो सिजन मेस्सीले कुन क्लबबाट फुटबल खेल्नेछन्, चासोको विषय बनेको छ।

(फोटमोबको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया