काठमाडौं । चिकित्सा शिक्षा आयोगले साउन ९ गतेदेखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तय गरेको छ । साउन ९ देखि १३ गतेसम्म सञ्चालन हुने प्रवेश परीक्षामा सबै परीक्षार्थीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको सूचना आयोगले सार्वजनिक गरेको परीक्षा तालिकामा उल्लेख छ ।
सिसिएमसीले परीक्षा सञ्चालनको स्वीकृति दिँदा नै कोभिड – १९ को उच्च जोखिमलाई ध्यानमा राख्दै पिसिआर अनिवार्य गरेअनुसार आयोगले सूचना प्रकासित गरेको आयोगका प्रवक्ता डिल्ली लुइँटेलले बताए । उनका अनुसार आयोगले तीन दिन लगाएर विद्यार्थीले रुचाएको ठाउँमै परीक्षा केन्द्र तोक्न फारम भराएको थियो। सोही अनुसार अब केन्द्र तोकिने छ ।
‘सिसिएमसीले परीक्षा सञ्चालन गर्न स्वीकृति दिँदा नै विद्यार्थीले रोजेको ठाउँअनुसार केन्द्र तोक्नुपर्ने र स्वदेशी विद्यार्थीको सवालमा परीक्षाको दिनुभन्दा ७२ घन्टाभित्रको पिसिआर रिपोर्ट अनिवार्य गरेको हो,’ प्रवक्ता लुइँटेलले भने, ‘विदेशी विद्यार्थीको हकमा भने ७ दिनको क्वारेन्टिन अनिवार्य गरेको छ । यसपटक परीक्षार्थीले आफूलाई पायक पर्ने केन्द्रबाट परीक्षा दिने पाउने भएका छन्। आयोगको परीक्षा निर्देशनालयले केन्द्र तोक्ने र जनशक्ति व्यवस्थापनबारे समन्वय गरिरहेको छ ।’
विदेशी परीक्षार्थी र परीक्षा केन्द्र स्थान छनोट गर्न छुटेका परीक्षार्थीको हकमा काठमाडौं उपत्यकामा परीक्षा केन्द्र कायम गरिएको आयोगले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ । ‘प्रवेशपत्र परीक्षा सुरु हुनुभन्दा ५ दिनअगाडि परीक्षार्थी आफैंले अनलाइन माध्यमबाट प्रिन्ट गर्न सकिने ब्यवस्था गरिएको छ,’ आयोग प्रवक्ता लुइँटेलले भने, ‘सबै परीक्षार्थीले सरकारले कायम गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । कोभिड १९ पिसिआरको रिपाोर्ट पोजेटिभ हुने परीक्षार्थीलाई छुट्टै कोठामा राखेर परीक्षा सञ्चालन गर्ने व्यवस्था भएकोले त्यस्ता परीक्षार्थीले आयोगको इमेल ठेगानामा अग्रिम जानकारी गराउनु पर्छ ।’
त्यस्तै परीक्षार्थीलाई आयोगको वेबसाइटमा रहेको तोकिएको स्वघोषणा फारम भरी आवश्यक विवरण दिन अनिवार्य गरिएको छ । यसपटक एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएएसएलएफ, बिपरफ्युजन टेक्नोलोजी, बिएएमएस, बिएनएस, बिएससी एमएलटी, बिएससी एमआइटी, बि फार्म, अपटोमेट्री, बिपिटी र बिपिएच गरी स्नातक तहका १३ विषयका लागि कुल ३२ हजार ८ सय ६६ परीक्षार्थीले परीक्षा दिँदैछन् । ‘सबैभन्दा बढी एमबिबिएसमा ११ हजार २ सय ९९, दोस्रोमा बिडिएसमा ४ हजार ५ सय ३६ तेस्रोमा बिएससी नर्सिङमा ४ हजार ३ विद्यार्थीले परीक्षा दिँदैछन् ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया