गण्डकी प्रदेशमा पत्रकारका लागि दुई करोड छुट्टाइयो

RSS
182
Shares

कास्की । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पत्रकारको हकहितका लागि आफू सधैँ प्रतिबद्ध भएको बताएका छन् । नेपाल प्रेस युनियन कास्की नेतृत्वको प्रतिनिधिमण्डलद्वारा मुख्यमन्त्रीसहित मन्त्री कुमार खड्कालाई बधाई तथा शुभकामना दिन आज आयोजित भेटघाटमा उनले पत्रकारको हकहितका लागि साधनस्रोतले भ्याएसम्म उनीहरुसँगै सल्लाह गरेर अघि बढ्ने बताए ।

सामाजिक विकासमन्त्री खड्काले यस वर्षका बजेटमा पत्रकारका लागि रु दुई करोडभन्दा माथिको बजेट छुट्याइएको र नेपाल पत्रकार महासंघको भवन नबनेका छ जिल्लामा निर्माणका लागि रु ६० लाख बजेट प्रस्ताव गरिएको जानकारी दिए ।

प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले श्रमजीवी पत्रकारको मनोबल बढाउने खालको कार्यक्रममा प्रदेश सरकारको साथ आवश्यक रहेको बताए । युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले सञ्चारमाध्यमको मर्म बुझ्नुपर्ने बताउँदै मिडिया विधेयकमा छलफल गरेर मिडियामैत्री बनाउनुपर्ने धारणा राखे । प्रेस युनियन कास्कीका सल्लाहकार गंगाधर पराजुलीले पत्रकार, सञ्चारगृह र महासंघलाई सक्षम र सदृढ बनाउँदै लैजानुपर्ने धारणा राखे ।

प्रेस युनियन कास्कीका सल्लाहकार राजबहादुर गुरुङ र शिरोमणि बराल, पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले आमसञ्चार प्रतिष्ठान, लोककल्याणकारी विज्ञापनलगायत विषयमा आआफ्नो भनाइ राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?