कैलाली बाढी र पहिरोको उच्च जोखिममा

लोकपथ
1k
Shares

शेरबहादुर ऐर / कैलाली । कैलालीसहित देशभरीनै अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी वायुका कारण कैलालीमा बाढी तथा पहिरोको जोखिम कायम रहेको छ ।

गत वर्ष (२०७७ साल) असारदेखि असोजसम्म बाढीका कारण कैलालीमा तीन जनाको मृत्यु भएको थियो । नौ हजार ५ सय २१ घरपरिवार प्रभावित भएका थिए भने दुई हजार नौ सय एक घरपरिवार विस्थापित भएको कैलाली जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यस वर्ष विगतका वर्षहरूको तुलनामा मनसुन बढी सक्रिय हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । सोही अनुसार जिल्ला विपद व्यवस्थापन समिति कैलालीले यस वर्ष जिल्लामा विपद्बाट दश हजार बढी घरपरिवार प्रभावित हुने आँकलन गरेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले असार ३ गते बसेको समितिको बैठकले यस वर्ष जिल्लामा विपदबाट १० हजार घरपरिवार प्रभावित हुने आँकलनसहित विपद पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ पारित गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी रिजालले भने– “कैलालीका बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि कर्णाली, कान्द्रा, पथरैया, मोहना नदी लगायतका जोखिमयूक्त क्षेत्रहरूमा हुन सक्ने कटान तथा बाढीका कारण हुने क्षति न्यूनिकरणका लागि समयमै रोकथाम तथा आपतकालिन तटबन्धको लागि कार्य गर्न सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएका छौं ।”

उनले मनसुन अवधिभर मनसुन सम्बन्धि सूचना तथा बुलेटिनहरूलाई उच्च प्राथमिकता दिई प्रकाशन प्रसारण गर्न सबै सञ्चार माध्यमलाई अनुरोध गरिएको बताए । उनले भने– “दैनिक मनसुन सम्बन्धि पूर्वानुमान महाशाखाले जारी गर्ने बुलेटिन सबै सरोकारवालालाई दैनिक इमेलमार्फत उपलब्ध गराउने व्यवस्था मिलाइएको, पूर्वसूचना प्रणालीका लागि जल तथा मौसम विज्ञान विभाग अत्तरियाको समन्वयमा सूचना संयन्त्र निमार्ण गरिएको छ ।”

प्रजिअ रिजालले विगतमा वर्षातको समयमा डुवान तथा नदी कटानका कारण ठुलो विपदको सामना गर्नु परेकाले यस वर्ष पनि मनसुन शुरु भइसकेको सन्दर्भमा आवश्यक पूर्वतयारीका साथ खोज तथा उद्दार कार्यमा जुनसुकै बेला परिचालन गर्न सकिने गरी उद्दार, राहत र पुर्नस्थापना कार्यमा खटिने सुरक्षाकर्मीसहित आवश्यक जनशक्ति श्रोतसाधनहरू तयारी अवस्थामा राख्न सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अनुरोध गरिएको बताए ।

प्रमुख जिल्ला अधिकारी रिजालले २०७७ चैत २७ गतेदेखि असार २ गतेसम्म विपदबाट प्रभावितहरूलाई राहतवापत ६० हजार रुपैयाँ उपलब्ध गराइएको जानकारी दिए ।

उद्दारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिने

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा विपदबाट हुनसक्ने जनधनको क्षति न्यूनिकरण गर्न पूर्वतयारी कार्य अघि बढाएको छ । बाढी, पहिरो, डुबान सहितका विपदबाट हुने जनधनको क्षति न्यूनिकरण गर्न प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा रहेको विपद व्यवस्थापन परिषदको बैठकले प्रदेशमै विपदमा परेका व्यक्तिको उद्दार तथा राहत वितरण गर्न हेलिकोप्टर तयारी अवस्थामा राख्न संघिय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले भनिन् –‘परिषदको तेस्रो बैठकले विपदमा परेका व्यक्तिको तत्काल उद्दार तथा राहत वितरणका लागि प्रदेशमा एउटा हेलिकोप्टर तयारी अवस्थामा राख्न संघिय सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ ।’

परिषदको बैठकले राहत तथा उद्दारका लागि आवश्यक सामग्रीको व्यवस्थापन गर्ने निर्णय गरेको छ । प्रदेशमा बाढी तथा पहिरोको जोखिम बढिरहेको बेला राहत तथा उद्दारका लागि डुंगा, डोरी तथा पहिरो गएको क्षेत्रमा आवश्यक पर्ने उपकरण लगायतका सामग्रीको जोहो गर्ने निर्णय गरेको थियो ।

परिषदको बैठकले विपद पूर्वतयारी तथा कार्ययोजना समेत पारित गरिसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो जेठ १६ देखि असार १५ सम्म विपदका विभिन्न २९ घटना भइसकेका छन् । राष्ट्रिय आपत्तकालिन कार्यसञ्चालन केन्द्रको अभिलेख अनुसार प्रदेशमा बाढी र पहिरोका १५ वटा घटना भइसकेका छन् । यी घटनामा यस वर्ष अहिलेसम्म छ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । एक जना हालसम्म बेपत्ता छन् ।

प्रदेशमा यस वर्ष अहिलेसम्म बाढी र पहिरोका सबैभन्दा बढी घटना बाजुरा जिल्लामा भएका छन् । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाजुरामा यस वर्ष बाढी र पहिरोका छ वटा घटनामा एक महिलाको मृत्यु भएको छ । ११ घरपरिवार प्रभावित भएका छन् । बाढी तथा पहिरोका कारण सात घर पूर्ण रुपमा क्षतिग्रस्त छन्् भने एक घरमा आंशिक क्षति पुगेको छ ।

पछिल्लो एक महिनामा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा विपदले क्षति पुर्याएको केन्द्रको तथ्यांकमा उल्लेख छ । सो केन्द्रका अनुसार प्रदेशको डोटीमा चार घटना भएकोमा दुई पुरुष र एक महिला गरी चार जनाको मृत्यु भइसकेको छ ।

दार्चुलामा पा“च विपदका घटनामा परि दुई जना वेपत्ता रहेका छन । त्यस्तै, बझाङमा बाढी र पहिरोका दुई घटनामा एक महिलाको मृत्यु भएको जनाइएको छ ।

खोज तथा उद्दार सामग्री अभाव– मन्त्री जोशी

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले प्रदेश सरकार र स्थानीय प्रशासनसंग खोज तथा उद्दार सामग्रीहरू अभाव रहेको बताएकी छिन् ।

“विपदपछि राहत उपलब्ध गराउनका लागि (त्रिपाल, व्ल्यांकेट, खाद्यान्न लगायत) सामग्री मौज्दात रहेको छ । तर, विपदका समयमा खोज तथा उद्दार गर्न ठुला सामग्री (हेभी इक्यूपमेण्ट) प्रदेशमा अभाव रहेको छ” मन्त्री जोशीले भनिन्– “ठुला बजेटका सामाग्रीहरू प्रदेश सरकार र स्थानीय तहले जोहो गर्न सक्दैनन् । यसका लागि संघीय सरकारसंग आग्रह गरिएको छ ।”

मन्त्री जोशीले केही दिनअघि संघीय गृह मन्त्रालयमा जनधन तथा क्षति न्यूनिकरणका लागि प्रदेशमा आवश्यक सामग्री उपलब्ध गराउन कुराकानी भएको बताइन ।

‘बाढी पहिरोको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा विगतका वर्षहरूमा धेरै क्षती भएको थियो । विगतमा झैँ विपदबाट क्षती ब्यहोर्न नपरोस भनेर सुदूरपश्चिम प्रदेश सरकारले विपद पूर्व सतर्कतासंगै विपदपछि उद्धार र राहतका लागि तयारी थालेका छौं’ मन्त्री जोशीले भनिन्– “प्रदेश सरकारसंग भएको आवश्यक सामान तयारी अवस्थामा राख्ने र अपुग समान संघीय सरकारसंग माग गरिरहेका छौं ।”

मन्त्री जोशीले बिपदलाई रोक्नै नसके पनि चाँडो उद्दार र राहत उपलब्ध गराएर सकेसम्म क्षती कम हुने गरी प्रदेश सरकारले काम गर्ने बताइन् ।

“हामीले हामीसँग भएको समान के कस्तो कति छ ? भनेर अनुगमन गरेका हौं” मन्त्री जोशीले भनिन्– “त्रिपालहरू, कपडाहरू यहा“ गोदाममा पर्याप्त छन् । अन्य समान के कति छ जानकारी लिएकी छु । अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबाटपनि मैले तथ्यांक लिएकी छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?