१८ गतेको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष नआउनुपर्ने कारण छैन : नेता पौडेल

लोकपथ
140
Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असार १८ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नआउनुपर्ने कुनै कारण नभएको बताएका छन् ।

आज पार्टीको बालुवाटारमा बसेको बैठकपछि बोल्दै पौडेलले नेकपा एमालेले २०७५ जेठ २ गते अघि रहेको पार्टी केन्द्रीय कमिटी ब्युताएको अवस्थामा सबै नेताहरु तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बन्नु पूर्वको हैसियतमा बैठकमा सहभागी हुनसक्ने बताएका हुन् । मन्त्री पौडेलले माधव नेपाल पक्षीय नेताहरु बैठकमा नआउनु अनुचित हुने पनि बताए । उनले नेताहरु बैठकमा आउने विश्वास पनि व्यक्त गरे । उनले भने– ‘केन्द्रीय कमिटीको बैठकमा आउनका लागि उहाँहरुले अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छैन । आजका मितिदेखि कारबाहीका प्रशंग पनि सकियो । र स्वभाविक रुपमा पूर्व हैसियत, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भन्दा अगाडीको अवस्थाबाट, अगाडीको पदीय हैसियतका साथ बैठकमा सहभागी हुन आव्हान गरिसकेपछि त्यो बैठकमा नआउनु सर्वथा अनुचित कुरा हुन्छ । त्यसकारणले म आशा गर्छु उहाँहरु आउनुहुनेछ ।’

अर्थमन्त्री पौडेलले पार्टीको अन्तरविरोध पार्टीको दायराभन्दा बाहिर पुगिसकेको उल्लेख गर्दै अन्तरविरोधहरुलाई पार्टीको दायरामा फर्काउनुपर्ने बताए । पार्टी भित्रै बसेर समस्याको समाधान गर्नुपर्ने र पार्टीलाई एकतावद्ध बनाउनुपर्नेमा उनको जोड छ । आगामी दिनमा नेकपा एमाले व्यक्तिको स्वेच्छाचारीतामा नचली पार्टी निर्णयको आधारमा चल्छ भन्ने कुराको सुनिश्चितता गर्नका लागि आगामी केन्द्रीय कमिटीको बैठक बस्न लागेको उनले स्पष्ट पारे । उनले भने– ‘पार्टीलाई एकतावद्ध गरेर लिएर जान सकुँ भन्ने हिसाबले प्रधानमन्त्रीले धेरै ठुलो पीडा सहेरपनि सम्वादको निम्ति, सहकार्यको निम्ति, एकताको निम्ति प्रयास गरिरहनुभएको छ । त्यही एकताको प्रयासको शिलशिला हो की हामी अहिले सबै जटिलताको बिचमा पनि समस्याहरुलाई समाधान गरौं, पार्टीको दायराभन्दा बाहिर पुगेको अन्र्तविरोधलाई पार्टीको दायरामा फर्काऔँ । पार्टी भित्रै बसेर समस्या समाधान गरौँ र पार्टीलाई एकतावद्ध गरेर लिएर जाऊँ । पार्टी अब पार्टी निर्णयको आधारमा चल्छ । व्यक्ति स्वेच्छाचारी ढंगले चल्दैन । पार्टीको निर्णयको आधारमा, पार्टीको निर्देशनको आधारमा चल्छ भन्ने कुराको सुनिश्चितता गरौँ भन्ने सोचका साथमा अब हामी नेकपा(एमाले)को केन्द्रीय कमिटीको बैठक बस्छौँ ।’

उनले कुनै खास कालखण्डमा दलको सदस्य निर्दलीय हुन्छ भनेर संविधानको गलत व्याख्या गर्न खोजिएको टिप्पणी पनि गरे । दलको सदस्य कहिल्यै पनि निर्दलीय नहुने उनले जिकिर गरे । संवैधानिक व्यवस्थामा निर्दलीय अभ्यास गर्नु नहुनेमा उनको जोड छ । उनले भने– ‘संविधानको गलत व्याख्या पनि गर्न खोजिएको छ । हाम्रो संविधानले निर्दलीयतालाई सम्पूर्ण रुपले अस्वीकार गर्छ । यो बहुदलीय लोकतान्त्रिक प्रणालीमा आधारित संविधान हो । यहाँ दलको सदस्य स्वतन्त्र हुन्छ, कुनै खास कालखण्डमा स्वतन्त्र हुन्छ भन्ने हिसाबले गलत व्याख्या गर्न खोजिएको छ । दलको सदस्य निर्दलीय हुन्छ भन्न खोजिएको छ । त्यो गलत कुरा हो । दलको सदस्य कहिल्यै पनि निर्दलीय हुँदैन । कहिले पनि स्वतन्त्र हुँदैन । दलको अनुशासनमा हुन्छ । यो संवैधानिक व्यवस्था अन्र्तगत निर्दलीय अभ्यास गर्ने कुरा कुनैपनि हालतमा उचित हुन सक्दैन ।’

नेकपा(एमाले)ले बुधवार दशौँ महाधिवेशन आयोजक कमिटीलाई भंग गरी २०७५ साल जेठ २ गतेको अवस्थामा रहेको केन्द्रीय कमिटी ब्युँताएको छ । सो केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाईएको छ । बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको माग पनि यही रहेकोले आगामी बैठकमा नेपाल पक्ष नेताहरु बैठकमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने आम चासोको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?