सत्ता टिकाउने ओलीको चाल : जेठ २ मा भन्दै जेठ ३ मै फर्किए !

दशौँ महाधिवेशन आयोजक कमिटी भंग भएसँगै नेकपा एमाले जेठ २, २०७५ मा फर्किएको छ ।

पार्टीमा विवाद चर्किदै गएपछि एमाले बिग्रहको डिलमा पुगेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बुधबार दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले महाधिवेशन आयोजक कमिटी भंग गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको हो । गत फागुन २३ मा सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको पार्टीसँग मिलेको भन्दै एमाले र माओवादीवादी केन्द्रलाई पूर्ववत् अवस्थामा ब्यूताइदिएको थियो । त्यसपछि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले फागुन २८ मा माओवादीबाट एमालेमा आएका २३ जनालाई समेटेर केन्द्रीय कमिटी बिस्तार गरेका थिए भने चैत ७ गते केन्द्रीय कमिटीलाइ महाधिवेशन आयोजक कमिटिका रुपमा परिणत गरिएको थियो । दुवै निर्णयमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले असहमति जनाएको थियो ।

सर्वोच्चले महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक ठहर गरेपछि त्यसको अन्तिम बैठक आज बसेको हो ।

महाधिवेशन आयोजक कमिटीको निर्णयलाई सर्वोच्च अदालतले मान्यता नदिई कर्णालीका चार सांसदलाई २७ जेठमा पुनर्वहाली गरेको थियो । एमालेको ओली पक्षले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकारलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका प्रदेश सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मबहादुर शाही र नन्दबहादुर बुढालाई सांसद पदबाट हटाउने निर्णय गरेको थियो । उनीहरु चारै जनालाई एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको निर्णय अनुसार प्रदेश सभा सदस्य र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरिएको थियो ।

त्यसविरुद्ध उनीहरु सर्वोच्च गएका थिए । सर्वोच्चले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी एमालेको पार्टीको आधिकारिक संरचना नभएको भन्दै उनीहरुलाई गरिएको कारवाही कार्यान्वयन नगर्न आदेश दिएको थियो । जसका कारण महाधिवेशन आयोजक कमिटीको वैधानिकतामा प्रश्न चिन्ह उठेको थियो ।

त्यसपछि आज महाधिवेशन आयोजक कमिटीले आफैँलाई विघटन गरेको हो । तर आजको बैठकमा वरिष्ठ नेता नेपाल पक्षका नेताहरु भने उपस्थित भएका थिएनन् । एमालेको आजको बैठकले यहि जेठ १८ गते २ जेठ २०७५ को केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीको आन्तरिक कलह चर्किएका बेला भएको यो निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ भइरहेका बेला प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले भोलि आफूलाई सत्तामा रहिरहने दाउ हेरेर यो निर्णय गरेका हुन वा साँच्चिकै पार्टी एकताका लागि गरेको हुन् त्यसप्रति एमाले नेताहरुनै शंका गरिरहेका छन् । नेपाल पक्षका नेता प्रेमल खनालले लोकपथसँग ओलीले अदालतको निर्णय कार्यान्वयन गर्दै जेठ २ नभई जेठ ३ कै निर्णयबाट हिड्न खोजेको बताए । आजको बैठकले माओवादीबाट एमालेमा आएका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापालाई स्थायी कमिटीमा मनोनित गर्ने निर्णय गरेको छ । यस तर्फ संकेत गर्दै खनाल जेठ २ मा नभएर ओली जेठ ३ मा फर्किएको बताउँछन् । ओली पार्टी एकताप्रति गम्भीर नदेखिएका पनि खनालको आरोप छ । “पार्टीलाई एकजुट बनाउने पहल अध्यक्षको हिसावले ओलीलै गर्नुपर्छ आजको निर्णयले उत्साहित बनाइहाल्ने अवस्था छैन,प्रतिनिधि सभा विघटनको गल्ती ओलीले स्वीकार्नु भएको छैन,लामो समयदेखि लोकतन्त्रको लागि लडेका नेताहरुप्रति गाली गर्दै हिडुनुभएको छ,” खनाल भन्छन् ।

 

उता एमाले ओली पक्षका नेता एवं कार्यालय सचिव शेरबहादुर तामाङ भने एमालेको आजको निर्णय पार्टी एकताका लागि कोसेढुंगा भएको दाबी गर्छन् । लोकपथसँग तामाङले भने “एमालेमा समाहित भएकालाई बाहिर जाउ भनेर भन्न सकिँदैन । जेठ २ मा कसको के हैसियत थियो, त्यसैको आधारमा १८ गते बैठकमा सबैलाई बोलाइन्छ ।”

वरिष्ठ नेता नेपाल समर्थक कतिपय नेताले नेपाल पक्षमा विभाजन ल्याउन ओलीले यस्तो रणनीति लिएको बताउँछन् । महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएसँगै वरिष्ठ नेता नेपाल सहितका ११ जना नेतामाथि ओलीले गरेका कारवाही पनि निष्क्रिय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?