युरो कप खेल ४४ : १२०+१ मिनेटमा गोल गर्दा युक्रेन क्वार्टर फाइनलमा, स्वीडेन बाहिरियो

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत मंगलवार राती भएको अन्तिम ‘राउण्ड अफ १६’को खेलमा युक्रेनले स्वीडेनलाई २-१ गोलले पराजित गरेको छ।

स्कटल्यान्डको राजधानी ग्लासगोमा भएको अन्तिम १६ अन्तर्गतको अन्तिम खेलको २७औं मिनेटमा युक्रेनले अग्रता लिएको थियो। कप्तान आन्द्रे यार्मोलेनकोको पासमा म्यान्चेस्टर सिटीका खेलाडी ओलेकजेन्डर जिन्चेनकोले शानदार गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए।

त्यसपछि पहिलो हाफको ४३औं मिनेटमा स्वीडेन खेलमा फर्कियो। एलेक्जेन्डर इसाकको पासमा स्वीडेनका स्टार खेलाडी एमिल फोर्सवर्गले उत्कृष्ट गोल गर्दै स्वीडेनलाई बराबरीमा लगे।

पहिलो हाफमा १-१ गोलको बराबरी खेलेका यी दुई टोलीले निर्धारित ९० मिनेटको समयमा अरु कुनै गोल थप्न सकेनन्। खेलमा विजेता टुङ्गो नलाग्दा अतिरिक्त समय थपियो।

अतिरिक्त समयको पहिलो हाफमा स्वीडेनका मार्कस ड्यानियलसनले रातो कार्ड प्राप्त गरे। त्यसपछि १० खेलाडीमा सीमित भएको स्वीडेनले दोस्रो हाफको अतिरिक्त समयमा पनि थपिएको इन्जुरी समयमा गोल खान पुग्यो।

ओलेकजेन्डर जिन्चेनकोको पासमा आर्तेम डोभबाइकले गोल गर्दा युक्रेनको क्वार्टर फाइनल यात्रा सुनिश्चित भएको हो। अब युक्रेनले क्वार्टर फाइनलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?