प्रतिनिधि सभाको अवमुल्यन किमार्थ स्वीकार्य हुँदैन : सभामुख सापकोटा

लोकपथ
77
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग समसामयिक विषयमा छलफल गरेका छन् ।

नयाँबानेश्वरस्थित संसद भवनमा आज भएको छलफलको सुरुवातमा धारणा राख्दै सभामुख सापकोटाले जनताको सर्वोच्च जनप्रतिनिधि संस्थाको अधिकार पटक पटक हनन् भएकोमा चिन्ता व्यक्त गर्दै प्रतिनिधि सभाको अवमुल्यन किमार्थ स्वीकार्य नहुने बताए । राज्यका तीन अंगबीचको सन्तुलन नराम्रोसँग बिग्रिएको बताउँदै उनले राजनीति र प्रशासनिक सन्तुलन पनि बिग्रिएको बताए ।

बेलायतको संसदमा नेपालको कोभिड संकटका बारेमा छलफल भएको तर प्रतिनिधि सभामा यो छलफल हुन नपाएको भन्दै सभामुख सापकोटाले देशमा कानुनको सर्बोच्चता नमान्ने अवस्थाको सृजना हुनु दुखद भएको बताए । हाल देशमा बहुआयामीक संकट आइपरेको बताउँदै सभामुख सापकोटाले यस्तो बेला जनतालाई राज्यका तीन अंगले कसरी काम गरिरहेको छ भनेर जानकारी दिनु पर्ने धारणा राखे । उनले संघीय संसदको नेतृत्वको हिसाबले संविधानको परिधिभित्र रहेर खेल्ने भूमिका के हुन सक्छ, भन्दै खुलेर सुझाव सल्लाह दिन सम्पादकहरुसँग आग्रह गरे । सभासामुख सापकोटाले आफूले राष्ट्रिय हित, संविधान र लोकतन्त्रको रक्षार्थ प्रभावकारी हस्तक्षेपका लागि बल गरिरहेको बताए ।

संघीय संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा प्रिन्ट र इलेक्ट्रोनिक मिडिया आवद्ध अनलाइन र टेलिभिजनका सम्पादकहरुको सहभागिता रहेको थियो ।

छलफलमा कान्तिपुर दैनिककका सुधिर शर्माले केही बर्षयता राज्यका तीन अंगकाबीचमा सन्तुलन बिग्रिएको चर्चा गर्दै गत फागुन ११ गते पुनर्स्थापना भएपछि संसद आफैं सक्रिय हुन नसकेको टिप्पणी गरे । उनले संवैधानिक नियुक्तिका सन्दर्भमा सभामुखको धारणा बारे जिज्ञासा राखे ।

देशसंचार डटकमका युवराज घिमिरेले वि.सं २०१७ साल देखिको संसद विघटनको कारण विश्लेषण गर्नुपर्ने, गुमेको अधिकार सन्दर्भमा खुला बहस हुनुपर्ने र अध्यादेश, संबैधानिक नियुक्ति र राजदूत नियुक्तिका सन्दर्भमा सदनको अधिकार सन्दर्भमा कडा रूपमा प्रस्तुत हुन सुझाव दिए ।

छलफलमा इकागजडटकमका हरिबहादुर थापाले पुनर्स्थापित संसदले प्रधानमन्त्रीको गलत कदमको सन्दर्भमा संकल्प प्रस्ताव ल्याउनु पर्नेमा त्यो हुन नसकेको धारणा राखे । रातोपाटी डटकमका अरुण बरालले सभामुखले लिन सक्ने सम्भावित निर्णयका सन्दर्भमा जिज्ञासा राखे ।

नेपाल समाचारपत्र दैनिकका कपिल काफ्लेले शक्ति पृथकीकरणकको सिद्धान्त अनुसार व्यबस्थापिकाले सशक्त भूमिका निभाउनुपर्ने धारणा राख्दै विघटित सांसदहरुसंग भेला र छलफल चलाउनु उपयुक्त हुने बताए ।

नागरिक दैनिकका गुणराज लुइंटेलले सर्बोच्च अदालतले प्रधानमन्त्रीको पहिलोपल्ट गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भनेको चर्चा गर्दै असंवैधानिक काम गर्दा जनता दण्डित हुनुपर्ने तर प्रधानमन्त्रीलाई किन केहि नहुने भनि प्रश्न गरे । नयाँ पत्रिका दैनिकका कृष्णज्वाला देवकोटाले अहिलेको खेल झेला गरेर जित्न खोजेको नभई खेल मैदान नै भत्काउने खालको भएको टिप्पणी गरे ।

अनलाइनखबरका शिव गाउँलेले सभा विघटन भएपनि संस्था जिवितै रहेकोले सभाले गर्ने भनेको बाहेक सबै कामकारबाही गर्न संविधानले सभामुखलाई छुट दिएकोले सोहि अनुसार भूमिका निभाउन सुझाव दिए । उनले संसद तथा प्रेस एक ठाउँमा उभिएर गलत कामको प्रतिकार गर्नुपर्ने बताए ।

अन्नपूर्ण पोस्ट दैनिकका अखण्ड भण्डारीले दोश्रो पछी तेश्रो पनि विघटन भएमा सभामुखको तयारी के छ भनेर जिज्ञासा राखे । राजधानी दैनिकका सागर पण्डितले सहकार्य, सह अस्तित्व र समन्वयमा साझा भूमिकामा सभामुख सहभागी हुन र सरकारले एजेन्डा नदिएपनि आफै एजेन्डा तय गरी सदन प्रभावकारी ढंगले संचालन गर्न सुझाव दिए । बाह्रखरीडटकमका प्रतीक प्रधानले खोप, बाढी, नीति तथा कार्यक्रम, बजेट अध्यादेश लगायतका जनताका समस्यामा सभामुखले प्रश्न उठाउने र सरकारलाई खबरदारी गर्नुपर्ने बताए ।

प्राइम टिभिका ऋषि धमलाले जनताले सभामुखबाट सशक्त भूमिकाको अपेक्षा गरेको, संसद पुनस्र्थापना हुँदा सभामा प्रधानमन्त्रीलाई रुलिंग गर्नुपर्ने बताए ।

शिलापत्र डटकमका बसन्त बस्नेतले संसद पुनस्र्थापना भएमा विगतको पाठ सिकेर सशक्त भूमिका खेल्न र संसद प्रभावकारी बनाउन सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?