युरो कप खेल ४२ : पेनाल्टी शुटआउटमा फ्रान्स पराजित, विश्व विजेतालाई स्तब्ध बनाउँदै स्विट्जरल्यान्ड क्वार्टर फाइनलमा

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत सोमवार राती भएको दोस्रो खेलमा स्विटजरल्यान्डले विश्व विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा ५-४ गोलले पराजित गरेको छ।

रोमानियाको राजधानी बुखारेस्टमा भएको अन्तिम १६ अन्तर्गतको खेलमा निर्धारित ९० मिनेटको समयसम्म दुवै टोलीले समान ३-३ गोल गर्दा खेल अतिरिक्त समयतर्फ गएको थियो। थपिएको ३० मिनेटमा पनि विजेता टोली घोषित नहुँदा खेल पेनाल्टी शुटआउट तर्फ गएको हो।

पहिलो हाफको १५औं मिनेटमा स्विट्जरल्यान्डले खेलमा अग्रता लिएको थियो। स्विस स्ट्राइकर सेफेरोभिचले उत्कृष्ट हेडर गोल गर्दा फ्रान्स खेलमा पछि परेको थियो। पहिलो हाफमा गोल गर्न नसकेको फ्रान्सले दोस्रो हाफमा ३ गोल फर्कायो।

दोस्रो हाफको ५५औं मिनेटमा स्विट्जरल्यान्डलाई पेनाल्टी प्रदान गरियो। तर स्विट्जरल्यान्डका रिकार्डो रोड्रिगेजको पेनाल्टी फ्रेन्च गोलरक्षक हुगो लोरिसले शानदार बचाउ गरिदिए। त्यसपछि ५७ र ५९औं मिनेटमा फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले दुई गोल गर्न सफल भए। बेन्जेमाले यस संस्करणको युरो कपमा आफ्नो गोल संख्या ४ बनाउँदा फ्रान्सले खेलमा अग्रता लियो। त्यसपछि खेलको ७५औं मिनेटमा फ्रान्सका मिडफिल्डर पल्ट पोगबाले अर्को गोल थपे।

दुई गोलले पछि परेको स्विट्जरल्यान्डले खेलमा शानदार कमब्याक गर्यो। स्ट्राइकर सेफेरोभिचले खेलको ८१औं मिनेटमा दोस्रो हेडर गोल गरे। त्यसपछि खेलको ९०औं मिनेटमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले बराबरी गोल गरे।

निर्धारित ९० मिनेटसम्म पनि विजेता टोलीको टुंगो नलाग्दा खेल पहिले अतिरिक्त समय हुँदै पेनाल्टी शुटआउट तर्फ गएको हो। जसमा स्विट्जरल्यान्डले आफ्नो ५ वटै पेनाल्टीलाई गोलमा परिणत गर्न सफल भयो।

जवाफमा फ्रान्सले पनि आफ्नो शुरुवाती ४ पेनाल्टीलाई गोलमा परिणत गर्दा किलियन एमबाप्पेको अन्तिम पेनाल्टीलाई भने स्विस गोलरक्षक यान सोमारले उत्कृष्ट बचाउ गरिदिए।

यसका साथै विश्वकप विजेता फ्रान्सको युरो कप यात्रामा स्विट्जरल्यान्डले पूर्णविराम लगाउन सफल भएको छ। स्विट्जरल्यान्डले अब क्वार्टर फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?