युरो कप खेल ४१ : कोपनहेगनमा गोलको वर्षात, अतिरिक्त समयमा स्पेन विजयी

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत सोमवार राती भएको अन्तिम १६ को खेलमा स्पेनले क्रोएसियालाई ५-३ गोल अन्तरले पराजित गरेको छ।

डेनमार्कको राजधानी कोपनहेगनमा सम्पन्न ‘नकआउट’ चरणको खेलमा कुल ८ गोल भए। पहिलो हाफको २०औं मिनेटमा स्पेनिश मिडफिल्डर पेड्रीको ब्याक पासलाई स्पेनिश गोलरक्षक उनाई सिमोनले नियन्त्रणमा लिन नसक्दा स्पेनिश पोस्टमा आत्मघाती गोल हुन पुग्यो।

तर खेलको ३८औं मिनेटमा स्पेन तथा पीएसजीका फरवार्ड पाब्लो साराबियाले गोल गर्दै स्पेनलाई बराबरीमा लगे। पहिलो हाफमा बराबरीको खेल खेलेका क्रोएसिया र स्पेनले दोस्रो हाफमा निकै रोमाञ्चक खेल पस्किए।

खेलको ५७औं मिनेटमा स्पेनिश फुलब्याक सेजर आजपिलिकुवेटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए। त्यसपछि ७७औं मिनेटमा स्पेनिश फरवार्ड फेरान टोरेसको शानदार गोलमा स्पेनले अग्रता दोब्बर बनायो।

तर निर्धारित ९० मिनेटको खेल सक्किन मात्र ५ मिनेट बाँकी रहँदा क्रोएसियाले दुई गोल फर्कायो। खेलको ८५औं मिनेटमा मिस्लाभ ओर्सिचले गोल गरे भने खेलको इन्जुरी समयमा मारियो पासालिचले शानदार हेडर गोल गर्दै क्रोएसियाली टोलीलाई ३-३ को बराबरीमा पुर्याए।

निर्धारित ९० मिनेटको खेलमा विजेता टुङ्गो नलागेको अवस्थामा खेलमा ३० मिनेटको अतिरिक्त समय थपियो। सो अतिरिक्त समयको पहिलो हाफमा स्पेनले अर्को दुई गोल थप्यो। १००औं मिनेटमा ड्यानियल ओलमोको पासमा स्पेनिश स्ट्राइकर अल्भारो मोराटाले शानदार गोल गरे। त्यस्तै १०३औं मिनेटमा फेरि ड्यानियल ओलमोकै पासमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए।

खेलमा त्यसपछि कुनै पनि गोल हुन नसक्दा सन् २०१० को विश्वकप विजेता स्पेनले सन् २०१८ को विश्वकप उप-विजेता क्रोएसियालाई ५-३ गोलको निकै नै रोमाञ्चक खेलमा पराजित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?