काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकर्ता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पुच्छर भएको टिप्पणी गरे ।
नेता नेपालले आफुले प्रधानमन्त्रीको प्रस्ताव गरेको भनी जनता माझ झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीले गरे ।
उनले भने- “प्रधानमन्त्रीको प्रस्ताव मैले माधव नेपाल भन्ने व्यक्तिलाई राखेँ अरे । माधव नेपालले आफै भन्दै हिडेका छन् मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे तर म मान्दिनँ । म शेर बहादुर देउवा प्रति यति सर्मपित छु । म देशलाई, पार्टीलाई, जनतालाई धोका दिन्छु । पार्टीलाई ध्वस्त पार्ने मैले कसम खाएको छु । शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । उनी शेरबहादुर देउवाको पार्टी नै ज्वाईन गर्न पनि सक्छन् । कार्यकर्ता भएर हिडेका छन् । प्रचण्डको पार्टी त उनलाई ज्वईन गर्नुनै छ । त्यो त उनको गन्तव्य नै हो । मैले धेरै अगाडि भनेको थिएँ । माधव नेपाल भनेको प्रचण्डको एउटा मामुली कार्यकर्ता हुन् । तर धाक के लगाएर हिडेका छन् भने प्रधानमन्त्री केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका छन् । मलाई बहुलाहा कुकुरले टोकेको छ र ? कोही काम नपाएर, कोही मान्छे नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?”
कहिले अध्यक्ष त कहिले प्रधानमन्त्रीको प्रस्ताव आएको छ भनी आफै आफ्नो महत्व बढाएर नेता नेपालले झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीले गरे । नेता नेपालले कम्युनिष्ट विचार धारा, सिद्धान्त र निष्ठा छोडेर नेकपाका अध्यक्ष दाहालको पुच्छर भएको दाबी प्रधानमन्त्री ओलीले गरे ।
उनले भने- “यीनी एकढंगले भन्ने हो भने प्रचण्डको पुच्छर हुन् । जन्तु पुर्वतिर फर्कियो भने पुच्छर पश्चिमतिर हुन्छ , पश्चिमतिर फर्कियो भने त्यो (पुच्छर) पुर्वतिर हुन्छ । फर्किन्छ । पछाडि पछाडि संगै हुन्छ क्या त्यो । उनी यता जाउँ भने भने पछि पछि त्यतै लाग्छ । कांग्रेसतिर जाउँ भनेपछि त्यतै पछि पछि लाग्छ । ”
उनले पछिल्लो समय नेपाली राजनीतिमा नेता नेपालको चर्चा नाथुराम गोड्सेको रुपमा हुने गरेको टिप्पणी गरे ।
उनले भने( “माधव नेपाल भन्ने एकजना कांग्रेसका पछाडि कुद्ने मान्छे छन् । अहिले नेपालको राजनीतिमा सबैजसोले नै चिन्छन् प्रायः । किनभने असाध्यै चर्चा भईरहेको छ कि यतिसम्म पनि मान्छे पतन हुन सक्दो रहेछ । आफ्नो पार्टीको सरकार ढाल्ने प्रमुख प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउने । कम्युनिष्ठ आन्दोलन सिध्याउने अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेताहुँ भनेर हिड्ने । यस्तो लाजशरम पचेको मान्छेको चर्चा सकारात्मक हिसावले मात्रै होइन नकारात्मक हिसाबले हुन्छ नि । गान्धीको मात्रै चर्चा हुदैन नाथुराम गोड्सेको पनि चर्चा हुन्छ ।”
प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई विचार बोक्न भई स्वार्थ बोक्न लगाउने गरेको टिप्पणी गरे ।
उनले भने( “राजनीतिक कार्यकर्ताहरुलाई कार्यकर्ताबाट जनमा परिणत गरिदिने । कार्यकर्ताहरुलाई विचार बोक्न लगाउने होइन स्वार्थ बोक्न लगाउने । स्वार्थको वितरण गर्ने । विचारको सम्प्रेषण होइन । स्वार्थको वितरण । र झुट र वेइमानीको सहारा लिने । केही मान्छेहरु अहिले हामीले देखिराखेका छौ । विचार हरायो । उद्देश्य हराए । देशलाई कहाँ पुराउने हो त्यो कुरो र्विसिए । सम्मृद्ध नेपाल सुखी नेपाली उहाँहरु उच्चारण पनि गर्नुहुन्न । जनताको ध्यान त्यतातिर जान्छ, कार्यकर्ताको ध्यान त्यता जान्छ । त्यसपछि व्यक्तिगत स्वार्थ, अंहकारहरु, महत्वकाक्षाहरु र कुण्ठाहरुको व्यापार चल्दैन । ”
प्रचण्ड छेपारो जस्तो : “निलवर्ण संघार” कथाको पात्र
प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिद्धान्तको राजनीति भन्दा अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गरे । उनले लोकतान्त्रिक शासन प्रणाली विरुद्ध नै शसस्त्र युद्ध गरेर ठूलो मानविय क्षति पुराएका दाहालले कहिले गणतन्त्र आफुले ल्याएको त कहिले गणतन्त्र भन्दा राजानै राम्रो भन्दै हिडेको बताए । अध्यक्ष दाहालले छेपारोले जस्तो गरि स्वार्थ र परिवेश अनुसार धारणा बदल्दै हिडेको टिप्पणी प्रधानमन्त्री ओलीले गरे ।
उनले भने( “प्रचण्डले अस्ति राष्ट्रपति भन्दा त राजै राम्रो के के भने क्यार .. मान्छेले छक्क माने । किन छक्क मान्ने छेपारोले रंग एकएकछिनमा फेर्छ त । खैरो मुढामा गयो भने खैरो खैरो खालको रंग बनाउँछ । अर्को हरियोमा गयो भने हरियो हरियो रंग बनाउँछ । अलि कालो बोक्रो भएको ठाउम पुग्यो भने कालोकालो बनाउँछ । छेपारोले रंग फेर्छ त ।
कहिले कम्फर्टेबल सरकार बनाईदिन्छु भन्छ कहिले –यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकीहरु के हेरेर बसेका छन् ? किन हस्तक्षेप गर्देनन् भन्छ । कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छ । कहिले गणतन्त्र भन्दा त राजतन्त्रै राम्रो भन्न पुग्छ । कहिले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गर्छ । ”
प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल “निलवर्ण संघार” कथाको पात्र जस्तो चरित्रको भएको दाबी गरे । प्रचण्डको काम नै देशलाई बर्बाद गर्ने भएको भन्दै उनले प्रचण्डलाई पनि पृथकतावादीहरुलाई राजनीतिकोमुल धारमा ल्याएजस्तै लोकतान्त्रिक मार्गलाई ल्याउन जरुरी रहेको बताए ।
राष्ट्रिय जनमोर्चाको स्वार्थनीति
प्रधानमन्त्री ओलीले राष्ट्रिय जनमोर्चाको भूमिकामाथि पनि तिखो टिप्पणी गरे । राष्ट्रिय जनमोर्चाले राजनीति र सिद्धान्तलाई नभई स्वार्थ नीतिलाई केन्द्र भागमा राखेर काम गरेको दाबी प्रधानमन्त्री ओलीले गरे । उनले आफ्ना एकजना प्रतिनिधिलाई जसरी भएपनि मन्त्री बनाउने प्रयासमा कांग्रेसलाई समर्थन गरेको दाबी गरे । उनले पछिल्लो समय राजनीतिक दल र तीनका नेताले स्वार्थ केन्द्रीत राजनीति गरेका कारण राजनीतिक सिद्धान्त, बर्गिय राजनीतिक, गन्तव्य र उद्देश्यका सवालहरु ओझेल पर्दै गएको उल्लेख गरे ।
प्रधानमन्त्रीले बौद्धिक जगतलाई क्षणिक आवेश र उत्तेजनामा नआउन आग्रह गरे । बुद्धिजीवीहरुलाई देश र जनताप्रति उत्तरदायी भएर आफ्ना अभिव्यक्ति दिन पनि उनले सुझाए ।
भण्डारीको योगदानको चर्चा
विचारलाई व्यवहारमा कार्यान्वयन गर्ने संगठित प्रयास स्वर्गीय मदन भण्डारीले गरेको भन्दै प्रधानमन्त्री ओलीले भण्डारीको राजनीतिक सोच , विचार, व्यवहार तथा समग्र योगदानको चर्चा गरे । जननेता भण्डारी शताब्दी नायक रहेको पनि उनले उल्लेख गरे । राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिमा नेता भण्डारीले पारेको प्रभावको पनि प्रधानमन्त्री ओलीले चर्चा गरे । उनले मदन भण्डारीको स्कुलिङ अहिलेको जस्तो झुट र बेइमानीको नभई सत्य र निष्ठाको रहेको बताए । उनले राजनीतिक दल, नेता तथा कार्यकर्ताले देश र जनताको हित हुने गरि सत्य र निष्ठाको राजनीतिक मार्ग अपनाउनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया