रमेश अंकलको छोराको नेपाली भाषामा ‘अगि एन्ड थ्री कक्रोचेज’

बेलुकाको समय पानी परिरहेको र चिसो चिसो हावा बगिरहेको थियो । बालकनीमा बसेर परिरहेको पानीलाई केही बेर नियालेपछि फेसबुक वालतिर नजर दौडाउन लाँगे ।

पेशाले पत्रकार प्राय दिनहरु राजनीतिक घटनाक्रम, अपराधका घटना, खेलकुदकै विषयमा लेख्दै बितेका हुन्छन । देशका मुख्य घटना थाहा भइसकेका हुन्छन । तै पनि बेलुकाको केही समय सामाजिक सञ्जालमा डुलेकै हुन्छु ।

राजनीतिक घटनाक्रम, एक से एक रमाईला टिकटक भिडियो सामाग्री, माया पिरतीका स्ट्याटस यस्तै यस्तै कन्टेन्टहरु आँउछन जान्छन ।

अभियन्ता पक्राउ, सर्वोच्चमा बहस, केपी ओली, माधव कुमार नेपाल यस्तै यस्तै समाचारले आजित भइसकेको म रमेश अंकलको छोरा अर्थात (लेखमणी त्रिताल) को भिडियो पोस्ट देखेर स्क्रोल गर्ने क्रम टक्क रोके ।

के आएछ रमेश अंकलको छोराको नयाँ सामाग्री ? लाग्यो बल्ल हेर्न लायक विषयबस्तु पाँए । त्यसमाथि रमेश अंकलको छोरा आफूलाई औधि मन पर्ने कलाकार । कसरी छुटाउँथे र !

यसपालि भने लेखमणीले फरक विषयवस्तु प्रस्तुत गरेका रहेछन् । ‘अगि एन्ड थ्री कक्रोचेज’ कार्टुनको अगि, ज्याक, बब, कक्रोचहरुको आवाज निकाल्दै रहेछन् । बच्चा बेलामा टिभिमा हेर्दाको आवाज जस्तै थियो ।

तर बच्चा बेलामा हिन्दीमा सुनेका ती आवाज अहिले भने नेपालीमा अनुवाद गरेर लेखमणीले आफ्नै आवाजमा मिमिक गरिरहेका थिए ।

बच्चाबेलामा हिन्दी भाषामा आउने कार्टुनहरु पुरै बुझ्न सकिदैनथ्यो । तर पनि हेरिन्थ्यो ।
लेखमणीले १ मिनेट ८ सेकेण्डको भिडियो अपलोड गरेका थिए । एक पटक हेरेर चित्त बुझेन दोहोर्र्याएर हेरें । निकै राम्रो लाग्यो ।

फेसबुकमा लेखमणीसँग पहिले नै कामको सिलसिलामा जोडिएको थिएँ । तत्कालै म्यासेज गरेर भिडियोको बारेमा कुरा गरेँ ।

भिडियो बारे लेखमणीले मलाई सुनाए, “यो मैले आफैलाई रमाईलोका लागि गरेको कोशिस हो, सानो छँदा आफैलाई अचाक्ली मनपर्ने यो कार्टुन नेपालीमा सुन्न पाए कस्तो हुन्थ्यो भन्ने जिज्ञासाका कारण पनि यो नेपाली डब्ड भिडियो भर्सन तयार पारेको हूँ ।।”

स्ट्याण्ड अप कमेडीबाट छोटो समयमै निकै चर्चा कमाएका छन् लेखमणीले । उनी आफ्नै नाम लेखमणी भन्दा पनि ‘रमेश अंकलको छोरा’ भनेर चिनिन्छन् । जे होस यस्तो सामाग्रीहरु स्तरीय रुपमा नेपाली भाषामा तयार पार्ने हो भने राम्रो हुने रहेछ ।

आफ्नो बाल्यकालमा कार्टुन हेरेको सम्झिए । स्कूलबाट मुमिन हेर्न भनेर हतार हतार घर आइन्थ्यो । त्यतीबेला केबल लाईन आइसकेको पनि थिएन । पछि बिस्तारै केबललाइनहरु प्रयोगमा आउन थाले । केबललाइन आउनु भन्दा अघि नेपाल टेलिभिजनमा जे आउँछ त्यै हेर्दै समय जान्थ्यो । तर केबललाइन जोडेपछि भने निक लोडियन्ज च्यानलमात्रै हेरिन्थ्यो ।

‘अगि एन्ड थ्री कक्रोचेज’ त्यतीबेलाको एक निकै नै चर्चित कार्टुन हो । जति एपिशोड हेरे पनि मन न अघाउने । ममीसँग झगडा गरेर पनि हेर्ने गरिन्थ्यो ।

अनि सम्झिँए कलाकार लेखमणीले आज गरे जस्तै नेपाली भाषामैं त्यतीबेला कार्टुनहरु आउने भएको भए कति रमाइलो हुन्थ्यो होला !

आज भोली पनि हिन्दी कार्टुन, सिरियलको नेपाली बजारमा निक्कै चर्चा छ । अधिकाशं नेपालीले यस्तै सिनेमा र टिभिमा आउने हिन्दी च्यानल हेरेर नै हिन्दी भाषा जानेका छन् ।
म आफैले पनि कार्टुन र हिन्दी फिल्म हेर्दा हेर्दै हिन्दी भाषा बुझ्न र बोल्न सक्ने भएको हुँ । कुनै अरु देशको भाषा बुझ्न र बोल्न सक्नु त राम्रै कुरा हो । तर हिन्दी भाषामा आउने कार्टुन र सिनेमाले गर्दा आफ्नै देशका सिनेमा क्षेत्र ओझेलमा परेका छन् । यदि आफ्नै भाषामा कार्टुनहरु आउने थियो भने हामीले विदेशी च्यानल टियून गर्नु पर्दैन थियो ।

कार्टुन मात्रै होइन, सिनेमाकै कुरा गर्दा पनि नेपालमा हलिउड र बलिउड फिल्म रिलिज हुँदा नेपालका आफ्नै फिल्महरुले लगानी समेत उठाउन नसकेका प्रसस्त उदाहारण हामीसँग नभएका होइनन् ।

उचित विषयवस्तु र कथा झल्काउने खालका नेपाली फिल्महरुले तहल्का नै मच्चाउने गरेका पनि छन् । विदेशमा गएर शुटिङ गर्ने वा अरु कूनै भाषाका फिल्मलाई हुबहू उतार्ने प्रवित्ति पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा हाबि भइरहेका छन् ।

‘नजिकको तिर्थ हेला’ भन्ने उखान यो परिस्थितीमा मिल्न गएको देखिन्छ । हामीहरुले नै स्वदेशी कुराहरुलाई सम्मान गर्न सकेनौ भने आउँदो पुस्ताहरुको पालामा झन के होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?