युरोमा अर्जेन्टिनी रेफ्री

युरो कप २०२०

काठमाडौं । डेनमार्कका क्रिस्टियन एरिक्सनको मेडिकल इमर्जेन्सीदेखि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको कीर्तिमानसम्म, यस संस्करणको युरो कपमा देखिएका नयाँ कुराहरू हुन्।

यसरी युरो कपमा खेलाडीहरूको चर्चा भइरहेको बेला यस पटक रेफ्रीबाट पनि इतिहास रचिएको छ। हो, कुनै पनि खेलमा उत्तिकै महत्व बोक्ने पात्र रेफ्री हुन्छन्, तर हामी आफूले समर्थन गरेको टोली र आफूलाई मनपर्ने खेलाडीमा यति डुब्छौं कि हामीलाई ती खेलाडी सँगसँगै दौडीरहेका रेफ्रीमा ध्यान दिने समय नै हुँदैन।

 

तर यस संस्करणको युरो कपमा भने रेफ्रीबाट इतिहास रचिएको छ। १६ संस्करणसम्म आइपुग्दा युरो कपमा युरोपेली राष्ट्र भन्दा बाहेकका रेफ्रीले पहिलो पटक युरो खेल खेलाएका छन्। यो इतिहास रच्ने पहिलो रेफ्री बने अर्जेन्टिनी मूलका फर्नान्डो आन्द्रेस रापालिनी।

युरोपियन फुटबलको सर्वोच्च निकाय, ’युइएफए’ले युरो कप २०२० को लागि छनोट गरेका १९ रेफ्रीमध्ये अर्जेन्टिनी रापालिनी पनि एक हुन्।

 

युरो कपमा यसरी आए रापालिनी ?

’युईएफए’ र दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय ’कनमेबोल’बिच रेफ्री साटफेर कार्यक्रम अनुसार फर्नान्डो रापालिनी युरो कप २०२० आइपुगेका हुन्। रापालिनीसँगै उनको टोली अर्जेन्टिनाबाट युरो कपका लागि ट्रेनिङ लिन गत ‘मे १०’ मा इस्तानबुल आइपुगेका हुन्।

त्यस्तै युईएफए र कनमेबोल बिचको साटफेर कार्यक्रम अन्तरगत नै स्पेनिश रेफ्री जिसस गिल मन्जानो र उनका टोली यसै महिना कोपा अमेरिका २०२१ मा रेफ्रीङ गर्न ब्राजिल तर्फ प्रस्थान गरेका थिए ।

युरो कपमा रेफ्रीको जिम्मेवारी पाएका रापालिनीसँगै अर्जेन्टिनाका जुवान पाब्लो बेलाटी र डिएगो यामिल बोनफा पनि असिस्टेन्ट रेफ्रीको भूमिकामा देखिएका छन्।

 

कस्ता रेफ्री हुन् रापालिनी ?

हामीले अग्रेसिभ खेलाडीहरू त धेरै देखेका छौं। तर रापालिनी अग्रेसिभ रेफ्री हुन्। यो कसरी भने, उनी मैदानमा कार्ड दिन पछि पर्दैनन्।

सन् २०११ मा रेफ्री बनेका रापालिनी पहिले स्विमिङ पुल निर्माता थिए। तर सन् २०११ देखि २०१४ सम्म घरेलु लिगमा रेफ्री बनेका रापालिनीले सन् २०१४ देखि अन्तराष्ट्रिय मञ्चमा पनि निर्णायकको भुमिका निर्वाह गर्दै आएका छन्।

४३ वर्षीय रापालिनीले गत सिजन अर्जेन्टिनी प्रिमियर डिभिजन फुटबल अन्तर्गत १६ खेलमा निर्णायकको भूमिका निभाए। सो दौरान उनले औसतमा प्रति गेम ६.८१ पहेंलो कार्ड देखाए।

अझै उनले ती १६ खेलमा ५ रातो कार्ड पनि प्रदान गरे। त्यस्तै कोपा लिबेरताडोरेस प्रतियोगितामा उनले मात्र ६ खेलमा ३८ पहेंलो कार्ड सहित १० रातो कार्ड देखाएका थिए।

उनको सोही अन्दाज युरो कपमा पनि देखियो। समूह ’सी’ अन्तर्गत युक्रेन र नर्थ म्यासेडोनिया बिचको युरो कप समूह चरणको खेलमा उनले रेफ्रीको जिम्मेवारी पाएका थिए।

रोमानियाको बुखारेस्टस्थित एरेना नेशनलमा भएको सो खेलमा उनले तीन पहेंलो कार्ड प्रस्तुत गरे। अझै उनले सो खेलमा दुवै टोलीलाई पेनाल्टी पनि प्रदान गरेका थिए। तर उनले प्रदान गरेको पेनाल्टीमा दुवै टोलीले गोल भने गर्न सकेनन्।

त्यस्तै रापालिनीले समूह ’डी’ अन्तर्गत क्रोएसिया र स्कटल्यान्ड बिचको खेलमा पनि निर्णायकको भूमिका निर्वाह गरे। उक्त खेलमा क्रोएसियाले स्कटल्यान्डलाई पराजित गर्दा उनले दुई पहेंलो कार्ड देखाए।

समग्रमा भन्नु पर्दा उनी एक जिम्मेवार हुन्, जसले खेलमा कुनै पनि किसिमको अनुशासनहिन कार्य सहदैनन्।

 

फ्रान्स र स्विट्जरल्यान्ड बिचको खेलमा रापालिनी

युरो कप २०२० अन्तर्गत ‘नकआउट’ चरणको खेलमा आज समूह ’एफ’को विजेता फ्रान्स र समूह ’ए’को तेस्रो स्थानमा रहेको स्विट्जरल्यान्ड बिच रोमानियाको राजधानी बुखारेस्टस्थित ’एरेना नेशनल’मा प्रतिस्पर्धा हुँदैछ।

यो खेलको निर्णायक टोलीमा रहनेछन् अर्जेन्टिनी रेफ्री फर्नान्डो रापालिनी र उनका सहायकद्वय जुवान पाब्लो बेलाटी र डिएदो यामिल बोनफा।

उनको स–सानो कुरामा पनि बारम्बार सिट्टी बजाउँदै खेल रोक्ने नियतिले विश्वकप विजेता फ्रान्सको खेलमा कतिको प्रभाव पार्दछ, समयले नै बताउनेछ।

 

(द सन र एक्सप्लिका बाट)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?