प्रदेशमा छैन, सिंहदरबारमा अर्बौंका गाडी अलपत्र

काठमाडौं, ११ चैत – प्रदेशका उच्च पदाधिकारीलाई गाडीको चरम समस्या भइरहेको अवस्थामा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र भने तीन सयभन्दा बढी गाडी मर्मतबिनै थन्किएका छन् । सरकारले सामान्य रूपमा बिग्रिए पनि समयमै मर्मत गर्न नसक्दा अर्बौं मूल्यका गाडी प्रतिदिन बिग्रँदै र थन्किँदै गएका हुन् । सिंहदरबारभित्र विभिन्न मन्त्रालयनजिक तथा सिंहदरबारभित्रकै ग्यारेजमा गरी तीन सयभन्दा बढी गाडी बिग्रिएको अवस्थामा अलपत्र राखिएको गृह मन्त्रालयले जनाएको छ ।केही दिनअघि प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसग गरेको छलफल कार्यक्रममा सबैजसो मुख्यमन्त्रीले प्रदेशले भोग्नुपरेका मुख्य समस्यामा गाडीको समस्यासमेत रहेको भन्दै तत्काल पूर्ति गर्न माग गरेका थिए । प्रदेशमा गाडीको चरम समस्या भइरहे पनि केन्द्रले सयौं गाडी मर्मत गरेर पठाउनेबारे कुनै गृहकार्य अघि बढाउन सकेको छैन ।प्रधानमन्त्री कार्यालयले केही महिनाअघि बिग्रिएका गाडी मर्मत गर्न सकिने खालका भए मर्मत गरेर प्रयोगमा ल्याउने र मर्मत हुन नसक्नेलाई लिलामी गर्नुपर्ने भन्दै त्यसका लागि कार्यालयका सचिव प्रेमकुमार राईको नेतृत्वमा प्रक्रिया अघि बढाएको थियो । सचिव राईले विभिन्न कारणले सो कार्य रोकिए पनि अब त्यस्ता गाडीको अवस्थाबारे खोजतलास गरी आवश्यक प्रक्रिया थालिने जानकारी दिए । प्रधानमन्त्री कार्यालयका सचिव राईले वर्षौंदेखि सयौं गाडी त्यत्तिकै राखिएको स्विकार्दै अब तिनको शीघ्र व्यवस्थापन जरुरी रहेको बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?