रोनाल्डो विश्व किर्तिमानबाट मात्र एक गोल टाढा, तर बेल्जियमको चुनौती पोर्चुगललाई निकै कठिन

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले बेल्जियमविरुद्धको अन्तिम १६ को खेलमा विश्व किर्तिमान रच्ने सम्भावना निकै बलियो रहेको छ।

आइतवार राती सबैको आँखा एक पटक पुनः रोनाल्डोमा रहने छ। उनी आफ्नो अन्तर्राष्ट्रिय करियरको ११०औं गोल गर्ने दाउमा बेल्जियमविरुद्ध मैदान प्रवेश गर्नेछन्।

युभेन्टसका स्टार रोनाल्डोले समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध दुई गोल गर्दै अली डाईको १०९ अन्तराष्ट्रिय गोलको कीर्तिमान बराबरी गरेका थिए। सो खेलमा रोनाल्डोकै दुई गोलको मद्दतले पोर्चुगलको अन्तिम १६ को यात्रा सम्भव भएको थियो।

यस युरो कपमा ५ गोल गरिसकेका रोनाल्डोको लक्ष्य अर्को कीर्तिमानमा पनि रहनेछ। एउटै संस्करणको युरो कपमा सर्वाधिक गोल गर्ने चाहना पनि रोनाल्डोको हुनेछ। यस अघि फ्रान्सका मिचेल प्लेटिनीले युरो कप १९८४ मा ९ गोल गर्न सफल भएका थिए।

तर, रोनाल्डोको ५ गोलको बावजुद पोर्चुगलको प्रदर्शनी सन्तोषजनक हुन सकेको छैन। समूह चरणमा पोर्चुगलले अर्जेको ४ अंक सन् २००८ देखि कुनै पनि डिफेन्डिङ च्याम्पियनले ‘ग्रुप स्टेज’मा प्राप्त गरेको सबैभन्दा कम अंक हो। यस अघि तत्कालीन युरो कप विजेता ग्रीसले मात्र सन् २००८ को समूह चरणमा पोर्चुगलभन्दा कम अंक (०) प्राप्त गरेको थियो।

अझै, फर्नान्डो सान्टोसको प्रशिक्षणमा रहेको पोर्चुगलले अन्तिम १६ मा यस प्रतियोगिताकै सबैभन्दा बलियो दावेदार मानिएको टोली, बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ। आइतवार राती स्पेनको सेभिलमा आयोजना हुने खेलमा पोर्चुगलका लागि म्यान्चेस्टर युनाइटेडका पूर्व सुपरस्टार रोनाल्डोबाट उत्कृष्ट प्रदर्शनीको अपेक्षा राखिएको छ। तर रोनाल्डोको विपक्षमा उत्रनेछन् अर्का म्यान्चेस्टर युनाइटेडका पूर्व स्टार खेलाडी रोमेलु लुकाकु।

यस सिजन रोनाल्डो सम्मिलित युभेन्टसलाई सिरी-ए उपाधिमा पछि पारिसकेका इन्टर मिलानका स्ट्राइकर लुकाकु युरो कप २०२० मा पनि त्यहि नियति राख्दछन्। बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज पनि लुकाकुको सफलतामा खुशी हुँदै भन्छन्, “इन्टर मिलान जानु लुकाकुको लागि निकै फलदायी निर्णय सावित भयो, युभेन्टसलाई पराजित गर्दै सिरी-ए उपाधि जितेका लुकाकुलाई जितको चस्का लागिसकेको छ।”

“लुकाकु अहिले उनको करियरकै बेस्ट लेभलमा छन्, जुन मेरो र बेल्जियमका लागि खुशीको कुरा हो। उनी विश्वकै सर्वोत्कृष्ट स्ट्राइकर हुन्”, मार्टिनेजले थपे। तथ्यले पनि यस्तै देखाउँछ। सन् २०१८ विश्वकप फुटबल पश्चात् लुकाकुले बेल्जियमका लागि २१ खेलमा २३ गोल गर्न सफल भएका छन्। युरो कप २०२० मा ३ गोल गरिसकेका लुकाकु रोनाल्डोसँग प्रतिस्पर्धा गर्न तयारी अवस्थामा देखिन्छन्।

प्लेयर्स टू वाच

बेल्जियम: केभिन डे ब्राइना

लुकाकुसँगै बेल्जियमका मिडफिल्डर डे ब्राइनालाई पनि प्रशिक्षक मार्टिनेजले विश्वकै बेस्ट मिडफिल्डर भनेर भनेका छन्। यो कुरामा शायद थोरै मानिस मात्र राजी नहोलान्।

म्यान्चेस्टर सिटीका सुपरस्टार डे ब्राइनाले चोटका कारण युरो कप २०२० मा मात्र १३४ मिनेट खेलेका छन्। यद्यपि यति थोरै समयमा पनि उनले बेल्जियमले गरेको ७ गोलमध्ये ३ गोलमा योगदान दिएका छन्।

यस प्रतियोगितामा एक गोल र दुई असिस्ट प्रदान गरिसकेका डे ब्राइनाले बेल्जियमका लागि सन् २०१४ देखि प्रमुख प्रतियोगिताहरुमा ७१ गोलको मौका बनाउन सफल भएका छन्। कुनै पनि युरोपियन खेलाडीले आफ्नो टोलीमा डे ब्राइना जति प्रभाव पार्न सकेको छैन।

भन्नै पर्दा पोर्चुगलका लागि रोनाल्डो जति महत्वपूर्ण पात्र हुन्, बेल्जियमका लागि डे ब्राइना त्यो भन्दा महत्वपूर्ण ‘ट्रम्प कार्ड’ हुन्।

 

पोर्चुगल: रेनाटो सान्चेज

सन् २०२०/२१ सिजनमा लिलसँग लिग-१ को उपाधि उचालेका रेनाटो सान्चेजले फ्रान्सविरुद्ध समूह चरणको अन्तिम खेलमा शुरुवात गरे। र विश्वकप विजेता फ्रान्सविरुद्ध उनले जुन प्रदर्शनी देखाए, त्यो प्रशंसनीय थियो। उनको ‘अल राउण्ड’ प्रदर्शनीमा पोर्चुगलले फ्रान्सविरुद्ध उत्कृष्ट खेलको नमुना पस्कियो।

सान्चेजले सो खेलमा अरु सबै खेलाडी भन्दा बढी बल रिकभरी गर्न सफल भए। उनले गरेका ८ बल रिकभरी र ३ ट्याकल पोर्चुगलको डिफेन्सिभ खेलमा निकै महत्वपूर्ण थियो। त्यस्तै सान्चेजले प्रतिद्वन्दीको हाफमा गरेका ३८ पास पोर्चुगलको ‘बिल्ड अप प्ले’मा उत्तिकै महत्वपूर्ण रह्यो।

 

केही ‘बिल्ड अप’ स्ट्याट्स

  • फ्रान्सविरुद्ध दुई गोल गरेका रोनाल्डो कुनै पनि प्रमुख अन्तराष्ट्रिय प्रतियोगितामा (युरो तथा विश्वकप फुटबल) सर्वाधिक युरोपियन गोलकर्ता बनेका छन्। उनले जर्मनीका मिरोसलाभ क्लोजको १९ गोलको कीर्तिमान तोड्दै प्रमुख प्रतियोगिताहरुमा आफ्नो गोल संख्या २१ बनाएका छन्।

  • फिनल्यान्डविरुद्धको जित रोबर्टो मार्टिनेजको प्रशिक्षणमा बेल्जियमको विश्वकप तथा युरो कपमा ९औं जित थियो। बेल्जियमका लागि यो कीर्तिमान राख्ने मार्टिनेज पहिलो प्रशिक्षक हुन्।

  • पोर्चुगलले युरो २०२० मा अहिलेसम्म ६ गोल खाइसकेको छ। जबकि पोर्चुगलले सन् २०१६ युरो कपमा मात्र ५ गोल खाएको थियो। त्यसबेला ७ खेलमा मात्र ५ गोल खाएको पोर्चुगलले अहिले ३ खेलमा ६ गोल खाइसकेको छ। पोर्चुगलको डिफेन्समा यो तथ्य ठूलो प्रश्न चिन्ह बनेको छ।

  • बेल्जियमको टोली पछिल्ला ५ प्रमुख प्रतियोगितामा हरेक पटक ‘नक आउ’ट चरण प्रवेश गरेको छ। सन् २०१८ को विश्वकप फुटबलमा सेमी फाइनलसम्मको यात्रा गरेको बेल्जियमले फ्रान्ससँग पराजय भोगेको थियो। बेल्जियमले कुनै पनि प्रमुख प्रतियोगिताको पछिल्ला १० खेलमा जित दर्ता गर्न नसकेको खेल पनि त्यही नै हो। अन्य ९ खेलमा बेल्जियम विजयी भएको छ।

  • मार्टिनेजको प्रशिक्षणमा बेल्जियमले पछिल्ला ५८ खेलमध्ये मात्र २ खेलमा गोल गर्न असफल भएको छ। प्रति खेल ३ गोलको औसत राखेको बेल्जियमले गोल गर्न नसकेका खेलहरूमा एक खेल सन् २०१८ को फ्रान्सविरुद्धको सेमी फाइनल (१-०) हो भने अर्को खेल सन् २०१८ जुनमा पोर्चुगलविरुद्धको खेल थियो (०-०)।

पोर्चुगल र बेल्जियम बिचको ‘ब्लकबस्टर’ खेल नेपाली समय अनुसार आज मध्यरात १२:४५ बजे ‘किकअफ’ हुने तालिका रहेको छ।

(फोटमोब बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?