काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीका वरिष्ठ नेता माधवकुमार पक्षका नेताहरुलाई बाध्यतामा परेर कारवाही गरेको बताएका छन् ।
आज बसेको एमालेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता ज्ञवालीले नेतृत्वलाई नै नटेर्ने प्रवृत्ति भएपछि नेपाल पक्षका नेताहरुलाई कारवाही गरेको दाबी गरे ।
“कारवाही हाम्रो रहरको विषय थिएन । आफ्नो पार्टीको नेताको विरुद्धमा गएको अवस्थामा हामी कारवाही गर्न बाध्य भयौँ ।” प्रवक्ता ज्ञवालीले भने ।
आजको बैठकमा पार्टी एकताका विषयमा छलफल भएको र त्यसको लागि हरसम्भव प्रयासहरु भइरहेको समेत बताए ।
“पार्टी एकताको विषयमा समेत छलफल भयो । हाम्रो तर्फबाट हरसम्भव प्रयासहरु भइरहेको छ । औपचारिक अनौपचारिक तबरबाट हरसम्भव प्रयास भइरहेको छ । एमाले कमजोर हुँदाखेरी सबै अफ्ठेरोमा पर्छन । २३ गते आह्वान पनि भइसकेको छ।” प्रवक्ता ज्ञवालीले भने ।
नेपाल पक्षका कतिपय नेताहरु एमालेको एकताभन्दा पनि एकता भत्काउने काम गरेको आरोप लगाएका छन् ।
प्रवक्ता ज्ञवालीले भने- “कति कतिपय नेताहरुको ध्यान एमालेलाई जोगाउने भन्दा पनि त्यसलाई भत्काउने काम गरिरहेका छन् ।”
यसैगरी आजको बैठकमा पार्टीको आगामी दशौँ महाधिवेशन बोलाउने निर्णय समेत गरेको छ । आगामी असार १६ गतेका लागि काठमाडौंंमा पार्टीको महाधिवेशन बोलाउने निर्णय गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया