८२ वर्ष पुरानो आफ्नै रेकर्ड तोड्दै इटालीले रच्यो नयाँ कीर्तिमान

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत अन्तिम १६ को खेलमा अस्ट्रिया माथिको जितसंगै रोबर्टो म्यानसिनीको प्रशिक्षणमा रहेको इटालीले नयाँ राष्ट्रिय कीर्तिमान रचेको छ।

इटालीले पछिल्ला ३१ खेलमा पराजय भोगेको छैन। गए राती सम्पन्न अन्तिम १६ को दोस्रो खेलमा इटालीले अस्ट्रिया माथि २-१ गोलको जित दर्ता गर्दै सो कीर्तिमान रचेको हो।

सन् २०१८ सेप्टेम्बरमा इटालीले पछिल्लो पटक पराजय भोगेको थियो। ‘युईएफए नेसन्स लिग’ अन्तर्गत सो खेलमा इटालीले पोर्चुगलसँग १-० को पराजय भोगेदेखि अहिलेसम्म कुनै पनि खेलमा हार चाखेको छैन।

इटालीको यो ३१ खेलको ‘अनबिटन रन’ उसको इतिहासकै सबैभन्दा लामो रहेको छ। यस अघि इटालीले सन् १९३५ देखि सन् १९३९ सम्म ३० खेलमा पराजय भोगेको थिएन।

जियान पिएरो भेन्टुराको प्रशिक्षणमा रहेको इटाली सन् २०१८ विश्वकप फुटबलको लागि योग्यता प्राप्त गर्न नसक्दा उसले प्रशिक्षणको जिम्मेवारी रोबर्टो म्यानसिनीलाई दिएको थियो।

त्यस यता इटालीले खेलेको ३६ खेलमध्ये २७ खेलमा जित दर्ता गर्न सफल भएको छ। म्यान्चेस्टर सिटीका पूर्व प्रशिक्षक म्यानसिनीले इटालीसँग ७ खेलमा बराबरीको नतिजा निकाल्दा मात्र २ खेलमा पराजय भोगेका छन्। उनको ७५.६ प्रतिशतको जित अनुपात इटालीको अहिलेसम्मकै प्रशिक्षकहरुमा सर्वोत्कृष्ट रहेको छ।

इटालीले यस युरो कप संस्करणको समूह चरणमा शत प्रतिशत नतिजा निकाल्न सफल भयो। उसले वेल्स, स्विट्जरल्यान्ड र टर्कीलाई पराजित गर्दा कुल ७ गोल गर्न सफल भएको थियो। र अझै महत्वपूर्ण कुरा, इटालीले यस दौरान १ गोल पनि आफ्नो पोस्टमा छिर्न दिएन।

अष्ट्रियाले गए राती इटालीविरुद्ध १ गोल गर्न सफल भयो। अष्ट्रियाका सासा कालाजिकले ११४औं मिनेटमा गरेका गोल इटालीले सन् २०२० अक्टोबर यता खाएको पहिलो गोल थियो। सासाको गोलले इटालीको १,१६८ मिनेट गोल रहित खेलेको समयलाई तोडेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?