युरो कप खेल ३८ : अतिरिक्त समयमा इटालीद्वारा अस्ट्रिया पराजित

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत शनिवार राती भएको अन्तिम १६ को दोस्रो खेलमा इटालीले अस्ट्रियालाई २-१ गोलले पराजित गरेको छ।

लन्डनको वेम्बली मैदानमा भएको खेलमा समूह ‘ए’ विजेता इटाली र समूह ‘सी’ उप-विजेता अष्ट्रियाले निर्धारित ९० मिनेटसम्म कुनै गोल गर्न नसक्दा खेल अतिरिक्त समयतर्फ गएको थियो। खेलको निर्धारित ९० मिनेटको समयसम्म इटालीले ५२ प्रतिशत बल पोसेसन बनाउँदा कुल २७ शत प्रहार गरेको थियो। जसमध्ये ६ शटले गोलको दिशा लिंदा अष्ट्रियाका गोल रक्षकले उत्कृष्ट बचाउ गरेका थिए।

निर्धारित ९० मिनेटसम्म पनि नतिजा नआउँदा ३० मिनेटको अतिरिक्त समय थपिएको थियो। सो अतिरिक्त समयको ५औं मिनेटमा इटालीले अग्रता लियो। प्रतिस्थापन भएर मैदान प्रवेश गरेका खेलाडी फेडेरिको चियेसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए।

त्यस्तै अतिरिक्त समयमा पनि पहिलो हाफको अन्त्यमा थपिएको १ मिनेटमा इटालीले दोस्रो गोल थप्यो। यसपाली भने प्रतिस्थापन भएर मैदान प्रवेश गरेका अर्का खेलाडी म्याटियो पेस्सिनाले गोल गर्न सफल भए।

अतिरिक्त समयको दोस्रो हाफमा २-० गोलको अग्रता लिएर मैदानमा उत्रेको इटालीले प्रतियोगिताकाकै पहिलो गोल खान पुग्यो। खेलको ११४औं मिनेटमा अष्ट्रियाका सासा कालाजिकले गोल गर्दा अष्ट्रियाले खेलमा फर्किने संकेत देखायो तर बराबरी गोल भने थप्न सकेन।

यस जितसँगै इटाली क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने अष्ट्रियाको युरो कप यात्रा अन्त्य भएको छ। क्वार्टर फाइनल खेलमा अब इटालीले बेल्जियम र पोर्चुगलबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?