युरो कप खेल ३७ : डेनमार्कको शानदार जित, वेल्स बाहिरियो

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत ‘नकआउट’ चरणको पहिलो खेलमा डेनमार्कले वेल्सलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

नेदरल्यान्ड्सको राजधानी आमस्टरड्यामस्थित ‘योहन क्राइफ एरेना’मा शनिवार राती सम्पन्न अन्तिम १६ अन्तर्गत पहिलो खेलमा डेनमार्कले वेल्सलाई पराजित गरेको हो। समूह ‘बी’को उप-विजेताकारूपमा अन्तिम १६ मा प्रवेश गरेको डेनमार्कले पहिलो हाफको २७औं मिनेटमा अग्रता लिएको थियो। स्ट्राइकर कास्पर डोलबर्गले शानदार गोल गर्दा डेनमार्कले खेलमा अग्रता लिएको थियो।

पहिलो हाफ १-० गोलले आफ्नो पक्षमा पारेको डेनमार्कले दोस्रो हाफमा अर्को तीन गोल थप्यो। खेलको ४८औं मिनेटमा डोलबर्गले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कको अग्रता दोब्बर बनाए। त्यसपछि वेल्सले खेलमा फर्किन कडा मेहेनत गरेपनि खेलको ८८औं मिनेटमा मेहेलेले डेनमार्कको लागि तेस्रो गोल गरे। त्यस्तै खेलको अतिरिक्त समयमा डेनमार्क तथा बार्सिलोनाका नम्बर ९ मार्टिन ब्राथवेटले गोल गर्दै डेनमार्कलाई ४-० को फराकिलो अन्तरले जित दिलाए।

समूह ‘ए’को उप-विजेता बन्दै अन्तिम १६ प्रवेश गरेको वेल्सको युरो कप २०२० यात्रा सकिएको छ। खेलको सुरुवाती १७ मिनेट शानदार फुटबल प्रदर्शनी गरेको वेल्स टोलीले त्यसपछि खेलमा तालमेल गुमाउन पुगेको थियो। कप्तान ग्यारेथ बेलले आफ्नो टोलीलाई खेलमा फर्काउन निरन्तर प्रयास गरेपनि उनी सफल हुन सकेनन्।

डेनमार्कले अब क्वार्टर फाइनलमा नेदरल्यान्ड्स र चेक गणतन्त्रबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?