धनगढी-टेकसिँह धामी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमाल र कृषि विकास निर्देशनालय दिपायलका कर्मचारीबीच विवाद भएको छ। शनिवार काम गर्न नपाउने भन्दै मेयर हमालल र कृषि निर्देशनालयका कर्मचारीबिच विवाद उत्पन्न भएको हो।
विवादपछि मेयर कर्णबहादुर हमालले अपशब्द प्रयोग गरेर गाली गर्दै कर्मचारीलाई कार्यालयबाटै लखेटेका छन्। ‘चोरहरु’ बाहिर जाउँ भन्दै मेयर हमालले बाहिर आफुहरुलाई निकालेको निर्देशनालयका कृषि प्राविधिक जनक बहादुर सिंहले जानकारी दिए। शनिवार कृषि निर्देशनालयका कर्मचारी कृषि औजार वितरणका लागि किसानसँग सम्झौता गर्न कृष्णपुर आएका थिए।
‘कृषि निर्देशनालयले एक-एक समूह बनाएर मेसिनरी औजार वितरण कार्यक्रम अन्र्तगत मलाई काजमा खटाएर किसानसँग सम्झौता गर्न पठाएको थियो’, सिंहले भने, ‘कृषि शाखासँग सहकार्य गरेर हामी यहाँ आएका हौ। काम सुरु मात्र गरेका थियौ। मेयर साप आउनुभयो। चोरहरु बाहिर निस्किनुस भन्नुभयो। कार्यालय भित्र कृषि शाखामा किसानलाई फारम वितरण गरिरहेको बेला मेयर साप आएर गाली गर्दै बाहिर पठाए ।’
नगरपालिकालाई कार्यक्रमका बारेमा हप्ता दिन अगाडि नै कार्यक्रमको बारेमा जानकारी दिइसकेको सिंहले बताए। नगरपालिकाको कृषि शाखाको बाहिर सूचना समेत टाँस गरेको उनले बताए ।
सिंहले भने, ‘मेयर सापले काम गर्न नदिएपछि नजिकै रहको इलाका हुलाक कार्यालयमा बसेर सम्झौता गरेर निस्कियौँ ।’ शुक्रवार कञ्चनपुरको बेलौरी, बेलडाँडी, पुनर्वास र लालझाडीमा किसानसँग सम्झौता गरिएको थियो । शुक्रवार काम सम्पन्न नभएको हुँदा शनिवार बिहान पनि कार्यक्रम राखिएको थियो ।
शनिवार कृष्णपुरका साथै भीमदत्त, शुक्लाफाँटा, बेदकोटमा सम्झौता सक्ने कार्यक्रम तय भएको प्राविधिक सिंहले जानकारी दिए । मेसिनरी सामग्री सम्झौता कार्यक्रममा प्राविधिक सहायक सिंहको नेतृत्वमा ४ जनाको टिम खटिएको थियो ।
निर्देशनालयले कञ्चनपुरमा १ सय ४६ जनालाई कृषि सामग्री वितरण गर्ने कार्यक्रम थियो भने कृष्णपुरमा १५ जनालाई वितरण गर्ने कार्यक्रम रहेको सिंहले जानकारी दिए । च्याम्फा ट्याक्टर, मीनि टिलर, रोटाभेट् लगाएतका औजार खरिदमा प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि सेवा निर्देशनालयले अनुदान वितरणका लागि सम्झौता गर्न थालेको हो।
नगरप्रमुख हमाल केही दिन पहिले पनि कैलाली गोदावरीको एक होटलमा निषेधाज्ञाको समयमा राति मदिरा माग्दै होटल सञ्चालकलाई धम्काएको भन्दै विवादमा तानिएका थिए । यस बारेमा मेयर हमालसँग बुझ्न खोज्दा उनले फोन उठाएनन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया