जेसिबीको बकेटले हानेर वडाध्यक्षको हत्या, दुई जना पक्राउ

लोकपथ
770
Shares

काठमाडौं । रातको १०:३० को समय, सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ स्थित भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठ र जेसिबी चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ र ठेकेदार प्रेम दाहाल एउटा स्थानीय होटलमा मदिरा पिएर बसेका थिए ।

हो-हल्ला गर्दै उनीहरुले करिब २ घण्टाको बसाइमा २ फूल रक्सी र केही गिलास घरेलु मादक पदार्थ सकाएका थिए ।पसलेले अब बन्द गर्ने बेला भयो भनेपछि उनीहरु बाहिर आए ।

यसैबीच, उनीहरुबीच सौन्दर्यीकरण भईरहेको मुखलाल दास पोखरीको निरीक्षणमा जाने सल्लाह भयो । उनीहरु मुखलाल दास पोखरीतर्फ गए ।

***

पोखरीको सौन्दर्यीकरणका क्रममा फेरि विवाद उत्पन्न भयो । विवाद निकै चुलिएपछि हात हालाहालको अवस्था भयो ।

विवादकै क्रममा आक्रोशित जेसिबी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरे । जेसिबीको बकेट प्रहार गरेर उनले वडाध्यक्ष श्रेष्ठलाई पुरेर फरार भए।

वडाध्यक्ष श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो ।

वडाध्यक्ष श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले जेसिबी चालक रविन तामाङ र ठेकेदार प्रेम दाहाललाई पक्राउ गरेको छ ।

खबर प्राप्त भएलगत्तै घटनास्थल पुगेर शव गाडेको ठाउँबाट शव निकालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले लोकपथलाई जानकारी दिए ।

हत्या आरोपमा पक्राउ परेका दुवै जना प्रहरी नियन्त्रणमा छन् भने थप अनुसन्धान भईरहेको एसपी राठौरले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?