युरो कप २०२० : समूह चरणका उत्कृष्ट ११ खेलाडी

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत आज शनिवार रातीबाट ‘अन्तिम १६’का खेलहरु शुरु हुँदै छन्। समूह चरणका सबै खेल समाप्त भइसक्दा युरो कपमा अब २४ राष्ट्रमध्ये केवल १६ राष्ट्रहरु बाँकि रहेका छन्।

जम्मा ६ समूहमा सहभागी २४ टोलीले कुल ३६ खेल खेल्दा केही अप्रत्याशित तथा शानदार व्यक्तिगत प्रदर्शनी अगाडि आए। हरेक राष्ट्रले ३ खेल खेल्दा समूह चरणका ‘उत्कृष्ट ११’ मा पर्न धेरै खेलाडीहरु दावेदार थिए। तर आफ्नो टोली सम्मिलित समूहको कठिनाई र चुनौतीलाई हरेक परिस्थितिमा पार लगाएको आधारमा समूह चरणका ‘उत्कृष्ट ११’ खेलाडीको सूची तयार पारिएको छ।

फुटबलको उत्कृष्ट मध्येका एक विश्लेषक ९० मिनेट का अनुसार समूह चरणका ‘उत्कृष्ट ११’ खेलाडी:

 

गोलरक्षक: ड्यानी वार्ड (वेल्स)

इटाली, स्विट्जरल्यान्ड, टर्की र वेल्स सम्मिलित समूह ‘ए’मा वेल्सलाई सबैभन्दा कम आंकिएको थियो। यस समूहमा इटाली सबैभन्दा बलियो टोली रहँदा स्विट्जरल्यान्ड र टर्कीलाई ‘डार्क हर्स’ मानिएको थियो।

तर वेल्सले समूह ‘ए’मा दोस्रो स्थानमा रहँदै ‘अन्तिम १६’मा स्थान बनाउँदा वार्डले शानदार प्रदर्शन गरे। विशेष गरी टर्कीविरुद्धको खेलमा उनको योगदान उल्लेखनीय रह्यो।

 

राईट ब्याक: डेन्जेल डमफ्राइज (नेदरल्यान्ड्स)

नेदरल्यान्ड्सले समूह ‘सी’मा शत प्रतिशत नतिजा निकाल्यो। उसको शानदार प्रदर्शनमा डेन्जेल डमफ्राइजको ठूलो योगदान रह्यो।

समूह चरणको तीनवटै खेलमा उत्कृष्ट प्रदर्शनी देखाएका डेन्जेल डमफ्राइजले दुई गोल समेत गरेका छन्।

 

सेन्टर ब्याक: लियोनार्डो बोनुची (इटाली)

समूह ‘ए’ विजेता इटालीले यस संस्करणको युरो कपमा आफ्नो पोस्टमा एक गोल पनि छिर्न दिएको छैन। ७ गोलको अन्तरले समूह चरणमा शत प्रतिशत नतिजा निकाल्न सफल इटालीको ठूलो श्रेय कप्तान बोनुचीलाई जान्छ।

बोनुचीले समूह चरणमा उत्कृष्ट रक्षात्मक खेलसँगै शानदार पासिंग गेमको पनि उदाहरण दिएका छन्। उनी समूह चरणकै उत्कृष्ट रक्षक हुन पुगे भन्दा गलत हुँदैन।

 

सेन्टर ब्याक: सिमोन कायर (डेनमार्क)

युरो कप २०२० का महानायक सिमोन कायर हुन्। समूह ‘बी’को पहिलो खेलमै डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमा अचेत अवस्थामा पुग्दा कायरले ठूलो भूमिका निभाए।

त्यो परिस्थितिमा डेनमार्कका कप्तान कायरले साँच्चिकै कप्तानी पारी खेले। एरिक्सनकी पत्नीलाई समहाल्ने देखि लिएर खेल रोकेर एरिक्सनलाई ‘मेडिकल इमर्जेन्सी’ दिने कार्यसम्म कायरको भुमिका कुनै महानायकको भन्दा कम थिएन। प्लस, समूह चरणमा उनको फुटबल प्रदर्शनी पनि राम्रो थियो।

 

लेफ्ट ब्याक: रोबिन गोसेन्स (जर्मनी)

Portugal v Germany - UEFA Euro 2020: Group F

‘थ्री म्यान डिफेन्स’ प्रणालीमा गोसेन्स विश्वकै उत्कृष्ट मध्येका एक लेफ्ट विङब्याक हुन्। समूह चरणमा पोर्चुगलविरुद्धको खेलमा उनले त्यो सावित पनि गरे।

सो खेलमा एक गोल र दुई असिस्टको योगदान दिएका गोसेन्सले समूह चरणमा उत्कृष्ट लेफ्ट ब्याकको भूमिका निर्वाह गरे।

 

डिफेन्सिभ मिडफिल्डर: पल पोग्बा (फ्रान्स)

जब जब पोग्बा फ्रान्सका लागि खेल्छन्, तब उनी विश्वकै उत्कृष्ट मिडफिल्डर जस्तो देखिन्छन्। यसपाली पनि त्यस्तै भएको छ।

समूह चरणमा पोग्बाले देखाएका प्रदर्शन प्रशंसनीय रह्यो। पोग्बाले फ्रेन्च टोलीको ‘ब्याकबोन’ बनेर डिफेन्स र एट्याकलाई सुन्दर तरिकाले जोड्न सफल भए। फ्रान्सले ‘ग्रुप अफ डेथ’मा शीर्ष स्थान ओगट्नुमा उनको ठूलो हात छ।

 

सेन्टर मिडफिल्डर: केभिन डे ब्राइना (बेल्जियम)

डे ब्राइनाले समूह चरणको पहिलो खेल गुमाए। अझै पनि भाँचिएको नाक लिएर खेलिरहेका डे ब्राइनाले अन्य खेलाडी भन्दा एक तह माथि नै प्रदर्शन गरेको पाइयो।

डेनमार्कविरुद्धको खेलको दोस्रो हाफमा प्रतिस्थापन भएर आएका डे ब्राइनाको उत्कृष्ट प्रदर्शनीकै कारण बेल्जियमले समूह ‘बी’मा शत प्रतिशत नतिजा निकाल्न सक्यो।

 

सेन्टर मिडफिल्डर: म्यानुवेल लोकाटेल्ली (इटाली)

इटालीको सम्पूर्ण मिडफिल्डले यस प्रतियोगितामा सुन्दर फुटबलको नमुना पस्किएको छ। त्यसमध्ये पनि लोकाटेल्लीको प्रदर्शन लोभ लाग्दो रह्यो।

यस प्रतियोगिताकै उत्कृष्ट मध्येका एक मिडफिल्डर लोकाटेल्लीको स्विट्जरल्यान्डविरुद्ध दुई गोल उल्लेखनीय थियो।

 

एट्याकिङ मिडफिल्डर: जिनी वाइनाल्डम (नेदरल्यान्ड्स)

वाइनाल्डम एट्याकिङ फुटबल प्रेमी हुन्। त्यसमाथि नेदरल्यान्ड्सका लागि खेल्दा उनीबाट गोलको अपेक्षा सधैं नै हुन्छ। र उनले गोल गर्छन् पनि।

यस संस्करणको युरो कपमा नेदरल्यान्ड्सका कप्तानको भूमिकामा रहेका जिनीले समूह चरणमा तीन गोल गरिसकेका छन्। समूह ‘सी’मा शत प्रतिशत नतिजा निकाल्न सफल डच टोलीको लागि उनको योगदान अतुलनीय रह्यो।

 

स्ट्राइकर: रोमेलु लुकाकु (बेल्जियम)

यस प्रतियोगिताका ‘गोल्डेन बुट’ दावेदार लुकाकुले युरोमा सोचेजस्तै प्रदर्शन गरेका छन्। अहिलेको समयमा विश्वका उत्कृष्ट मध्येका एक स्ट्राइकर लुकाकुले शुरुवाती खेलमै दुई गोल गरेका थिए।

समूह चरणमा तीन गोल गर्न सफल लुकाकु बेल्जियमसँग युरो कप उपाधि उचाल्ने दाउमा छन्। यस प्रतियोगितामा उनी भन्दा बढी गोल गर्ने व्यक्तित्व मात्र एक जना छन्।

 

स्ट्राइकर: क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

 

ठूला प्रतियोगिता, तगडा प्रतिद्वन्दी, नयाँ कीर्तिमान र उत्कृष्ट प्रदर्शनी; जहाँ जहाँ आउँछन्, त्यहाँ त्यहाँ पछिल्लो दुई दशकदेखि एउटा नाम आइरहेको छ। हो, हामी रोनाल्डोको कुरा गर्दैछौँ।

यसै युरो कपको दौरान अन्तराष्ट्रिय खेलमा सर्वाधिक गोलकर्ता बन्न सफल रोनाल्डोले अहिलेसम्म ५ गोल गरिसकेका छन्। इरानका अलि डाईसँग १०९ अन्तराष्ट्रिय गोलको कीर्तिमानी बराबरी गरेका रोनाल्डोले यसै प्रतियोगितामा त्यो रेकर्ड तोड्ने चाह राख्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?