काठमाडौं । राष्ट्रिय सभाको बर्खे अधिवेशनमा बैठक बस्नका लागि संसद् सचिवालयले आवश्यक तयारी सुरु गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आगामी १७ गतेदेखि आह्वान गरेपछि संसद् सचिवालयले बैठकको आवश्यक तयारी गर्न लागेको हो ।
कोरोनाको नयाँ भेरियन्टका कारण जोखिम भइरहेकाले त्यसलाई ध्यानमा राख्दै बैठक सञ्चालन गर्ने तयारी गरिएको छ । गत पुस १७ देखि २६ गतेसम्म राष्ट्रिय सभाको अधिवेशन आह्वान भएपछि ६ महिनापछि बैठक बस्न लागेको छ । राष्ट्रिय सभाका सांसद धेरैजसो उपत्यकाबाहिर रहेका छन् । जसकारण समितिको बैठक पनि बस्न सकेको छैन । संसद् सचिवालयले सबै सांसदलाई अधिवेशन आह्वानको जानकारी विभिन्न माध्यमबाट गराउँदै आएको छ ।
यसअघि सचिवालयले स्वास्थ्यलाई उच्च प्राथमिकता दिएर तयारी थालेको थियो। बैठकमा एक सांसद र अर्को सांसदबीच दुई कुर्सी खाली राखी गरी सामाजिक दूरी कायम गरिएको थियो। संसद्मा प्रवेश गर्ने सांसदले अनिवार्य मास्क लगाउनुपर्ने र ज्वरो नआएका सांसदले मात्र प्रवेश पाउने व्यवस्था गरिएको थियो । त्यस्तै, सेनिटाइजरको प्रयोग गर्ने, हात नमिलाउनेदेखि विश्व स्वास्थ्य संगठनले तोकेका अन्य मापदण्ड कडाइका साथ पालना गराइने व्यवस्था गरिएको थियो ।
संसद् भवनबाहिर हात धुन साबुनपानीको व्यवस्था पनि गरिएको थियो। हात धोएपछि मात्र संसद् भवनमा प्रवेश दिइने व्यवस्था गरिएको थियो । ‘सांसदहरूको टेबलमा सेनिटाइजर अनिवार्य गरिएको छ र बोल्नुअघि माइक पनि अनिवार्य रुपमा सेनिटाइज गर्नुपर्ने व्यवस्था गरिएको थियो ।’
यो समाचार आजको नागरिक दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया