स्टेज कार्यक्रम : सम्झिने पानी छम्किने (भिडियोसहित)

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणले नेपाललाई पनि आक्रान्त पारेको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमणबाट ८ हजार ८ सय भन्दा बढीले ज्यान गुमाएका छन् भने ६ लाख २६ हजार भन्दा बढी संक्रमित भएका छन्।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २०७६ चैत्र ११ देखि लकडाउन घोषणा गरेको थियो । लामो समयको लकडाउन र निषेधाज्ञापछि सरकारले अधिकांश क्षेत्र खुला गर्‍यो तर अत्याधिक भीडभाड हुने भन्दै सरकारले स्टेज कार्यक्रम गर्न अनुमति दिएन । तै पनि जवरजस्ती फाट्टफुट्ट देशका विभिन्न ठाउँ र विदेशमा यस्ता कार्यक्रमहरु आयोजना भए । झण्डै वर्षदिनपछि आयोजना भएका यस्ता कार्यक्रमले पनि निरन्तरता पाउन सकेन । घिस्रिँदै पाइला चाल्न लागेको स्टेज कार्यक्रमहरु नयाँ वर्षको आगमनसँगै ब्रेक लाग्यो ।

कोरोनाको नयाँ भेरिन्ट देखापरेको भन्दै सरकारले गत बैशाख १६ देखि निषेधाज्ञा लागू गरेपछि सांस्कृतिक कार्यक्रम मात्रै होइन देश नै ठप्पप्राय बन्यो । अहिले पनि देशका अधिकांश जिल्लामा खुकुलो किसिमले निषेधाज्ञा लागू गरिएको छ । अन्य क्षेत्र विस्तारै खुलेपनि स्टेजलगायतका सांस्कृतिक कार्यक्रमहरु तत्काल आयोजना हुने कुनै काँटछाँट देखिँदैन । यसको प्रत्यक्ष मारमा परेका छन्, स्टेज पर्फमर कलाकारहरु।

सुक्यो, आम्दानीको मुख्य स्रोत

कलाकारको आम्दानीको आकर्षक माध्यम हो, स्टेज कार्यक्रमहरु । विशेषगरी गायक,गायिका, नृत्य टोली,हाँस्यव्यंग्य कलाकार तथा बाद्य-बाधकहरुको आम्दानीको मुख्य स्रोत नै हो स्टेज कार्यक्रमहरु।

मेला महोत्सवको सिजनमा त झन् कलाकारको भाउ आकासिने गरेको छ । त्यसो त कलाकारले एकैदिन तीनदेखि पाँचवटा कार्यक्रममा समेत भ्याउने गरेका थिए।

गायक गायिका शिव परियार, राजेशपायल राई, पशुपति शर्मा, प्रकाश सपुत, बद्री पंगेनी, दुर्गेश थापा, खुमन अधिकारी, बसन्त थापा, प्रमोद खरेल, रामजी खाँड, सागर लम्साल, अन्जु पन्त, इन्दिरा जोशी, मन्जु पौडेल, पुणर्कला बिसी, भूमिका गिरी,हेमन्त शर्मा, ज्योति मगर,मेलिना राई, शितल शर्मा, देवी घर्ती, शान्ति श्री परियार, राधिका हमाल, अन्जली अधिकारी, प्रिती आले, मुना थापा मगर, आस्था राउत लगायतको माग दर्शकमाझ निकै उच्च छ । यस्तै हास्यब्यंग्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, जितु नेपाल, केदार घिमिरे, सन्दीप क्षेत्रीलगायत देश विदेश घुमिरहन्छन्।

मेला महोत्सवहरुमा हुने यस्ता कार्यक्रममा कलाकारले राम्रै पारिश्रमिक पाउने गर्छन् । ख्यातिप्राप्त राष्ट्रिय कलाकारले एउटा कार्यक्रममा ५० हजारदेखि दुई लाख रुपैंयासम्म लिने गरेका छन् । स्थानीय, क्षेत्रिय कलाकारले १० देखि ५० हजार रुपैंयासम्म लिने गरेका छन् । पछिल्लो समय मेला महोत्सवहरुले पनि ब्यवसायीक रुप लिन थालेको थियो । जसले गर्दा कलाकारहरुले राम्रै आम्दानी गर्न थालेका थिए।

अझ विदेशमा रहेका प्रवासी नेपालीले आयोजना गर्ने कार्यक्रममा त निकै आकर्षक पारिश्रमिक र उपहार पाउने गरेका छन् । सिजनमा महिनौं दिनसम्म विदेश घुम्ने कलाकारहरु समेत छन् । विशेषगरी खाडी मुलुक, जापान, कोरिया, अष्ट्रेलिया, अमेरिका लगायतका मुलुकहरुमा यस्ता कार्यक्रम धेरै मात्रामा हुने गरेका छन् । देश अनुसार कलाकारको पारिश्रमिक पनि फरक फरक छ ।

सामान्यत: ख्यातिप्राप्त कलाकारले विदेशमा कार्यक्रम गर्न जाँदा एक लाख रुपैंयादेखि ७ लाख रुपैंयासम्म लिनेको गरेको पाइएको छ । कार्यक्रमको सिलसिलामा सबैभन्दा धेरै विदेश घुम्ने कलाकारमा मनोज गजुरेल,पशुपति शर्मा, बद्री पंगेनी, दुर्गेश थापा, प्रकाश सपुत, शिव परियार, राजेश पायल राई, सन्दीप क्षेत्री, मन्जु पौडेल, इन्दिरा जोशी, लगायत रहेका छन् । विगतमा दैनिक तीन वटा सम्म कार्यक्रममा पुग्ने गरेका चर्चित गायक बद्रि पंगेनी अहिले जे छ त्यसैमा रमाउनु पर्ने अवस्था आएको बताउँछन् ।

चर्चाको चुचुरोमा रहेकाहरुलाई त कमाउन नपाएको पिरलो मात्रै छ तर भर्खरै स्टेजमा उक्लिएकाहरुका लागि त करियरकै सवाल छ । गीत संगीतमा लामो समय संघर्ष गरेर देश विदेश घुम्ने तरखरमा रहेकाहरु झन ठूलो मारमा परेको बताउँछन्, लोकगायक मुक्तिनाथ उप्रेती ।

विकल्पमा के गर्दैछन् कलाकार ?

कार्यक्रम तालिका मिलाउन भ्याइनभ्याइ हुने कलाकारहरु झण्डै डेढ वर्षदेखि घरमै सिमित भएका छन् । पछिल्लो समय कलाकारहरु म्युजिक भिडियो बनाउने, युट्युवमा अपलोड गर्ने र तिनको भ्यूज हेरेरै चित्त बुझाइरहेका छन् । कोही सामाजिक सञ्जालमा रमाइरहेका छन्, कोही आफ्नै युट्युब च्यानल खोलेर खुराक पस्किरहेका छन् भने कोही ब्यापार र कृषिकर्ममा रमाइरहेका छन् ।

गत वर्षको लकडाउनमा भन्दा अहिलेको निषेधाज्ञाले कलाकारको सिर्जनशीलता घटेको जस्तो महशुस भएको बताउँछन् हास्यकलाकार मनोज गजुरेल । कोरोनाकाल र यस पछाडि कलाकारले उत्प्रेरकको भुमिका निभाउँदै काममा फर्किनुपर्ने कलाकार गजुरेलको भनाइ छ । सांगेतिक कार्यक्रम तत्काल आयोजना हुने देखिँदैन । यसको विकल्प के हुन सक्छ त ?

यसका साथै कतिपयले विभिन्न डिजिटल प्लेटफर्ममार्फत आम्दानीको बाटो अंगालेका छन् । कतिपय भने ब्यवसायीक कृषि कर्म र अनलाइन विजनेशतर्फ लागेका छन् ।

गायक बद्री पंगेनीको निषेधाज्ञाको समय नयाँ गीत सिर्जना, राहत वितरण र खेलकुद गतिविधिमा सामेल भएर बित्ने गरेको छ । गायक पंगेनी युट्युव संचालन नै दिर्घकालिन उपाय नभएकाले सरकारले राज्यले नै दिर्घकालिन योजना ल्याउनु पर्ने र जनताले साथ दिनुपर्ने बताउँछन् । कला क्षेत्रलाई मनोरञ्जनात्मक रुपमा मात्रै नभई प्राथमिकतामा राख्नुपर्ने पंगेनी बताउँछन् ।

जसले ठूलो मौका गुमाए

कोरोना कालमा धेरै जना सर्जक चर्चित भए । अवस्था सामान्य हुन्थ्यो भने उनीहरुको रेट निकै बढ्थ्यो तर दुर्भाग्य । गीत चले, सर्जक चर्चित बने तर आम्दानी खासै भएन । को को हुन् त चर्चाको शिखर चुमेर पनि आम्दानी गर्न चुकेका कलाकारहरु ?

कारोना महामारीपछि प्रकाश सपुतका धेरै वटा गीतहरु हिट भए तर उनले स्टेज कार्यक्रममार्फत कमाउने अवसर भने गुमाए । यो बीचमा रचना रिमालका गीतहरु पनि निकै भाइरल भए तर उनका लागि स्टेज कार्यक्रमहरु उनकै गीतले भनेकै ‘सम्झिने सम्झिने पानी छम्किने’ सावित भयो।

यस्तै कोरोना कालमै दुर्गेश थापा, एलिना चौहान, समिक्षा अधिकारी, कल्पना दाहाल, टिका सानु, शान्ति श्री परियारलगायत पनि निकै चर्चित बने । तर देश विदेश घुमेर आम्दानी गर्ने अवसर भने गुमाउन पुगे । यस्तै पछिल्लो समय भाइरल बनेका बाल कलाकारहरु सचिन परियार, रविना बसेल, आयुषा गौतम, प्रिन्स लम्साल, प्रितम आचार्यलगायत पनि देश विदेश घुम्नबाट बन्चित भए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?