असारे विकास परम्पराको अन्त्य गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । कर्णाली प्रदेशका उर्जा तथा जलस्रोत विकासमन्त्री दीनबन्धु श्रेष्ठले प्रदेशभित्रका सबै जिल्लाका प्रमुखहरु, जिल्लाका आयोजना शाखा प्रमुखहरु तथा कर्मचारीहरुसँग भर्चुअल संवाद गरेका छन् ।

मन्त्री श्रेष्ठले गत आर्थिक वर्षका आयोजनाहरु कार्यान्वयनको विषय र अन्य विकास निर्माण सम्बन्धी जिल्लागत वस्तुस्थितीबारे जानकारी लिएका छन् ।

त्यसैगरी असार मसान्तभित्र निर्माण कार्य सम्पन्न गरि प्रगती विवरण पेश गर्ने गलत परम्पराको अन्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

“वर्षौँदेखिको असार मसान्त भित्र निर्माण कार्य सम्पन्न गरि प्रगती विवरण पेश गर्ने गलत परम्पराको अन्त्य गर्नुपर्छ”, मन्त्री श्रेष्ठले भने । “यो परम्पराले गर्दा गुणस्तरमा प्रश्न उठ्न सक्छ । गुणस्तरमा ध्यान दिनुपर्छ त्यसमा कुनैपनि सम्झौता नहुने । असारमा आएर भुक्तानी दिने प्रक्रिया अन्त्य गर्नुपर्छ ।”

यसैगरी सम्बन्धित निकायको राय लिँदै मन्त्री श्रेष्ठले समयमानै कार्यसम्पादन गर्ने परम्पराको शुरुवातको थालनी गर्ने समेत आग्रह गरेका छन् । त्यसका साथसाथै विकास निर्माणका आयोजनाहरु जनमुखी हुनुपर्नेमा समेत जोड दिए ।

“विकास निर्माणको कार्यमा गुणस्तर र कार्यान्वयन पक्षमा ध्यान दिन निर्देशित गर्दछु । विकास निर्माणका आयोजनाहरु जनमुखी हुनुपर्यो ।” मन्त्री श्रेष्ठले भने ।

त्यसैगरी आगामी आर्थिक वर्षको बजेट विवरणमुखी भन्दा पनि उत्पादनमुखी हुने र वित्तिय अनुशासन भित्र रहेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?