नेपालमा लागूपदार्थ दुर्व्यसन : डरलाग्दो दलदल, यसरी फस्दैछन् युवा

घटना १ : 

माथिको तस्वीर नियालेर हेर्नुहोस् । एक्स-रे मा देखिएको तस्वीर एक जना मानिसको शरीरको अघिल्लो भाग हो ।

एक्स रे मा देखिएको स साना दानाजस्ता देखिने क्याप्सुलका लस्कर दावा लामा तामाङको पेटको हो । यती धेरै क्याप्सुल मानिसको पेटमा कसरी पुग्यो ? तस्वीर हेरेपछि पक्कै तपाईहरुको मनमा यो प्रश्न उब्ज्यो होला ।

वास्तविकता थाहा पाएपछि तपाई आँखीभौँ तन्काउनुहुनेछ । फोटोमा देखिएको एक्सरेको तस्वीरमा प्रष्टैगरी देखिएको क्याप्सुल अवैध लागू औषध खैरो हिरोइन (ब्राउन सुगर)को हो ।

२०७७ साल चैत २३ गते । दावा लामा तामाङ पाकिस्तानबाट इयर अरबिया एयरलाईन्सको विमानमार्फन् सारजाह हुँदै नेपाल आउँदै थिए । पाकिस्तानमै उनले सो क्याप्सुल मुखबाट निलेर विमानभित्र प्रवेश गरेका थिए ।

तामाङले सोचेका थिए कडाईका साथ चेकजाँच हुने एअरपोर्टमा पेट भित्र लुकाएर ल्याएको लागूपदार्थबारे कसले सुईँको पाउला र ? प्रहरीले कसरी थाहा पाउलान् र ? तर विशेष सूचना पाईसकेको प्रहरी उनलाई पक्रन तयार भएर बसेको थियो । प्रहरीको टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । पक्राउपछि तामाङलाई एक्स-रे गर्न प्रहरी अस्पताल लगिएको थियो । उनको शरीर स्क्यान गर्दा पेटमा क्याप्सुल देखिएपछि भोलिपल्ट उनको दिशाबाट क्याप्सुल निकालिएको थियो ।

त्यसरी निकालिएको क्याप्सुल तौल गर्दा ९०० ग्रामका थियो । तामाङको साथबाट ३०० अमेरिकी डलर पनि बरामद भएको थियो ।
बरामद गरिएको ९०० ग्राम खैरो हिरोइनको नेपालमा अन्दाजी मूल्य ९० लाख बराबर रहेको छ । (स्मरण रहोस् खैरो हिरोइन मानव शरीरका लागि यति खतरनाक हुन्छ कि,  खैरो हिरोइनको प्रयोगकर्ताले १ ग्राम ३ पटक प्रयोग गर्ने गर्दछन् । तामाङले ९०० ग्राम खैरो हिरोइन निलेर पेटमा राखी ल्याएका थिए । )

नेपाल प्रहरीले ठूलो परिमाणमा बरामद गरेको लागू औषधबारे यो एउटा प्रतिनीधि घटनामात्रै हो । अनि दावा लामा तामाङ एउटा प्रतिनिधि पात्रमात्रै । नेपाल प्रहरीको तथ्याङ्क पल्ट्याएर हेर्ने हो भने यस्ता धेरै घटना भएको देखिन्छ ।

***

घटना २

  • तपाईले कहिले र कसरी लागू पदार्थ सेवन गर्न थाल्नु भयो ? सुधारगृहबाट भर्खरै घर फर्किएका विपिनसँग गरिएको प्रश्न ।

२ वर्ष भयो म यो कुलतमा फसेको । पहिला मलाई चुरोटको मात्रै बानी थियो । कलेजमा साथीहरु सबै त्यस्ता त थिएनन् तर एकजना थियो जसले लागू पदार्थ सेवन गर्दो रहेछ । पहिल्यै थाहा भएन नत्र साथी नै बनाउँदैन थिएँ होला । उसले मलाई धेरै पटक लागू पदार्थ सेवन गर्न करकाप गरेको थियो तर म चुरोटमात्रै खान्थेँ । एक दिन चुरोटमा गाँजा मिसाएर दिएछ मलाई थाहा भएन । खाएँ । बिस्तारै म चुरोटबाट गाँजा तान्ने भए । पछि त उसैको लहलहैमा लागेर ट्याब्लेट र सुई लगाउने भए । पटकपटक घरको मेरो कोठामा गाँजा, चुरोट र ट्याबलेट भेट्नुभएछ बाबाले अनि मलाई सुधारगृहमा लैजानु भयो । २ महिना बसेपछि बल्ल म घर फर्केको हुँ ।

  • लागू पदार्थ प्रयोग गर्नेहरुलाई के सुझाव दिनुहुन्छ ? प्रश्न थपिन्छ ।

‘म यस्तो समयबाट गुज्रेर आएँ त्यो मलाई राम्रोसँग थाहा छ । सुधार केन्द्र आएपछिका शुरुवाती दिनहरु सम्झन पनि सक्दिन । त्यस्तो अवस्थाबाट गुजारेर आएको म अहिले मलाई लागू पदार्थ सम्झन पनि मन लाग्दैन । हामी यो कुरामा ढुक्क हुनुपर्यो की मैले संगत गर्ने साथि कस्तो छ ? गलत मानिससँग टाढा बस्नुस् । भेटघाट बन्द गर्नुस् । बोल्दैमा सँगै हिँड्दैमा के हुन्छ र ? भनेर म त्यो हालतमा पुगेको हुँ ।

हो विपिनजस्तै हजारौँ युवा लागू पदार्थ सेवन तथा कारोबारमा संलग्न भएका छन् । नेपालमा लागू पदार्थ सेवन तथा कारोबार वर्षेनी दोब्बर रुपमा बढ्दै गएको प्रहरीको तथ्यांक छ। विश्वमै लागूपदार्थ चुनौती बनिरहेको अवस्थामा नेपालमा पनि हरेक वर्ष यसको सेवन तथा कारोबार बढ्दै जानु चिन्ताको विषय बनेको प्रहरीको भनाइ छ।

नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरका अनुसार आर्थिक वर्ष २०७४/७५ मा लागूपदार्थ कारोबार तथा दुर्व्यसनमा संलग्न रहेको आरोपमा ४ हजार ७ सय ५४ जना पक्राउ परेका थिए । त्यस्तै आ. व. २०७५/७६ मा त्यो संख्या बढेर ५ हजार ५ सय ५८ भयो ।
आर्थिक वर्ष २०७६/७७ मा केही घटेर ४ हजार ५ सय ५४ मा झर्‍यो । चालू आर्थिक वर्षको बैशाखसम्मको तथ्यांक हेर्दा २ हजार ५ सय ५८ जना लागूपदार्थ कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।

 

कुँवरका अनुसार लागूपदार्थको प्रयोग र ओसारपसार विगतका वर्षहरुमा भन्दा बढ्दै गएको छ। मुनाफा आर्जन गर्नका लागि पनि पछिल्लो समय लागू पदार्थको ओसारपसारका घटनाहरु बढी रहेको उनको भनाई थियो ।

निषेधाज्ञामा मात्रै लागूपदार्थ ओसारपसारका घटनाहरु बढेका छन्। विशेषगरी सिमावर्ती क्षेत्र जस्तै झापा, कञ्चनपुर, धनगढी लगायतका जिल्लामा घटनाहरु बढेका छन्। यस्ता क्रियाकलापमा सजिलै कसैले चाल नपाउने टेक्निक प्रयोग गरिएको हुन्छ । जस्तो कि एम्बुलेन्स, ट्रक, मोटरसाइकलहरुमा लागूपदार्थ ओसारपसार हुने गरेको पाइन्छ। एसएसपी कुँवरले बताए।

नेपालमा लागूपदार्थको हटस्पट :

विगत ४-५ वर्षको गतिविधिलाई मध्येनजर गर्ने हो भने मुलत तराईका सिमावर्ती क्षेत्र, झापा, कञ्चनपुर, धनगढी र राजधानी काठमाडौं रहेका छन्। प्रहरीकै तथ्यांकलाई आधार मान्दा पनि नेपालमा सबैभन्दा धेरै लागूपदार्थको प्रयोग र ओसारपसारका घटना झापामा भएको प्रहरीको तथ्यांक छ ।

प्रहरी प्रवक्ता कुँवरका अनुसार लागूपदार्थका किसिमले हटस्पट कहाँ हो भनेर मुल्याङ्कन गर्नुपर्ने हुन्छ ।

गाँजा : मकवानपुर र पर्सा हटस्पट ।

ब्राउन सुगर : झापा, कञ्चनपुर, धनगढी हटस्पट ।

देशका अन्य भूभागमा पनि यस्ता लागूऔषधको कारोबार तथा प्रयोग भइरहेका छन् । प्रहरीको तथ्यांकबाट सबै उमेरसमूह, सबै लिंग पेशाका मानिसहरु यस्ता क्रियाकलापमा संलग्न भएका छन् । निषेधाज्ञाको समयमा काठमाडौं भित्रिने लागू पदार्थको मात्रामा केही कमि आएको छ। नागढुंगा नाका भएर भित्रिने लागूपदार्थ निषेधाज्ञाका कारण कम भएको प्रहरीको भनाइ छ।

लागूपदार्थको अखडा झापामा दिनहुँ लफडा 

खुल्ला सीमाको फाईदा उठाउँदै काँकरभिट्टा नाकाबाट नेपाल भित्र्याइँदै गरेका लागू पदार्थसहित मानिसहरु पक्राउ पर्ने क्रम दिनहुँ जस्तो छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सानो परिमाणका घटनाहरु दिनहुँ हुने गरेको छन्।

नेपाल लागू पदार्थको ट्रान्जिट पोइन्ट

कारोबारी र प्रयोगकर्ताले विगतका वर्षहरुमा नेपाललाई लागू पदार्थको ट्रान्जिट पोइन्टको रुपमा प्रयोग गर्थे । खासगरी पाकिस्तानमा लागू पदार्थको सप्लाई गर्न नेपाल ट्रान्जिट पोइन्ट हुने गरेको थियो । तर अहिलेको परिप्रेक्ष्यमा नेपाल ट्रान्जिट पोइन्ट होइन। पछिल्ला वर्षहरुको लागू पदार्थको प्रयोगको संख्यामा आएको डरलाग्दो वृद्धि हेर्दा नेपालमै आन्तरिक सप्लाई बढेको देखिन्छ ।

दोब्बरले वृद्धि :

नेपालमा बरामद गरिएको अधिकांश लागूपदार्थको परिमाण दोब्बरले बढेको । लागू औषध नियन्त्रण ब्यूरोका प्रवक्ता ऋषिराम कंडेलका अनुसार २०७७ /७८ को बैशाख मसान्त सम्ममा ५ हजार ४ सय ९२ केजी गाँजा, ४ सय ७३ केजी चरेस, करिब साढे ८ केजी खैरो हिरोइन, २६० केजी अफिम बरामद भएको छ।

ब्यूरोका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ४ हजार ५ सय ७० केजी गाँजा, ६ सय १९ केजी चरेस, ७ केजी खैरो हिरोइन, ४४ केजी अफिम बरामद भएको कंडेलले जानकारी दिए।

आर्थिक वर्ष २०७६ /७७ मा २ हजार ९ सय वटा लागू पदार्थको मुद्दा दर्ता भएका थिए । ४ हजार २ सय ५ जना पुरुष पक्राउ परेका थिए भने १ सय ९२ जना महिला पक्राउ परेका थिए । त्यस्तै, चालू आर्थिक वर्षको बैशाखसम्मको विवरण हेर्दा २ हजार ५ सय ५६ मुद्दा दर्ता भएका छन् । ३ हजार ५ सय ८५ जना पुरुष र १ सय ३३ जना पक्राउ परेका थिए।

अहिले ब्राउन सुगर, अफिम, गाँजाजस्ता वस्तुको कारोबार ह्वात्तै बढेको देखिन्छ। लागू औषध नियन्त्रण ब्यूरोका प्रवक्ता कंडेलका अनुसार नेपालमा गाँजा तथा ब्राउन सुगर अन्य लागूपदार्थ भन्दा सस्तो भएकाले यसको प्रयोगकर्ताहरुको संख्या बढेको हो।

नेपाल प्रहरीका अनुसार नेपालमा लागू पदार्थ भित्रिने प्रमुख ४ नाका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, भैरहवा र काँकरभिट्टा । यसका अलावा खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट ठूलो संख्यामा लागूपदार्थ अन्य नाकाहरूबाट नेपाल भित्रने गरेको छ।

मापसेसँगै लापसे जाँच :

लागू औषध नियन्त्रण गर्न प्रहरीले मादक पदार्थ सेवनको जाँचसँगै लागू पदार्थ सेवनको जाँच शुरु गरेको थियो । तर लापसे जाँच प्रभावकारी रुपमा कार्यानोयन भने भएको देखिदैँन।

लागू पदार्थ दुर्व्यसनको दलदलमा युवाहरु फसिरहँदा सरकारको आँखा विशेष रूपले त्यस क्षेत्रमा पर्न नसकेको लागू पदार्थ दुर्व्यसनको क्षेत्रमा काम गर्ने संस्था नार्कोनन् नेपालका प्रमुख वसन्तराज कुँवरले बताए। लागू पदार्थ दुर्व्यसनको विषयमा सरकारले थुप्रै काम गर्नुपर्ने कुँवरको भनाई छ ।

लागू पदार्थ दुर्व्यसनको विषयमा सरकारले कुनै मास्टर प्लान नै बनाएको छैन। जबसम्म कुनै प्लान बन्दैन तबसम्म केही हुनेवाला छैन। उनले बताए । “प्रहरी कारवाही भनेको अन्तिम विकल्प मात्रै हो। प्रहरी कारवाहीले मात्रै लागूपदार्थ दुर्व्यसनको वर्तमान स्थितिमा सुधार हुँदैन ।” कुँवरले थपे ।

लागू औषध नियन्त्रण आफैंमा संवेदनशील छ । किनकी यसले देशको ऊर्जाशील जनशक्तिलाई कुलतमा फसाउने काम त गरेको छ नै त्यो भन्दा बढी सुरक्षा चुनौती पनि बढाउँदै गएको छ । नियन्त्रणमा सुरक्षा निकायको एकल प्रयासले मात्र सम्भव छैन ।

त्यसो त नेपालमा लागू औषध नियन्त्रणका लागि ऐन नभएको होइन । तर प्रभावकारी रुपमा त्यसको कार्यान्वयन भएको भने देखिएको छैन। यस्तोमा सरकारले लागू औषध नियन्त्रणलाई गम्भीरताका साथ लिएर बजेटदेखि स्रोत साधन बढाउन पनि ध्यान दिँदै कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिनु आवश्यक देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?