युरो कप खेल ३६ : रोनाल्डोको नयाँ कीर्तिमानमा पोर्चुगल र फ्रान्सको बराबरी

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए राती भएको खेलमा पोर्चुगल र फ्रान्सले २-२ गोलको बराबरी खेल खेलेका छन्।

हंगेरीको बुडापेस्टस्थित ‘पुस्कास एरेना’मा भएको समूह ‘एफ’को अन्तिम खेलमा वर्तमान विश्वकप विजेता फ्रान्स र वर्तमान युरो कप विजेता पोर्चुगलले बराबरी खेल खेलेका हुन्।

पहिलो हाफको ३१औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत पोर्चुगललाई अग्रता दिलाएका थिए। तर पहिलो हाफकै अतिरिक्त समयमा फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले पेनाल्टी मार्फत नै गोल गर्दा शुरुवाती ४५ मिनेट १-१ को बराबरीमा सकियो।

दोस्रो हाफको शुरुवाती २ मिनेटमै फ्रान्सले अग्रता दोब्बर बनायो। पल पोगबाको पासमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सले खेलमा अग्रता लिएको थियो। त्यसपछि खेलको ६०औं मिनेटमा रोनाल्डोले कीर्तिमानी गोल गर्दै पोर्चुगललाई बराबरीमा पुर्याए।

रोनाल्डोले पेनाल्टी मार्फत खेलमा व्यक्तिगत दोस्रो गोल गर्दा उनी अन्तराष्ट्रिय मञ्चमा सर्वाधिक गोलकर्ता बन्न पुगे। उनले इरानका खेलाडी अलि डाईको १०९ गोलको कीर्तिमान बराबरी गरेका हुन्।

खेलमा त्यसपछि कुनै गोल हुन नसक्दा फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ भने पोर्चुगल तेस्रो स्थानमा रहँदै नकआउट चरण प्रवेश गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?