युरो कप खेल ३५ : जर्मनीलाई बराबरीमा रोके पनि हंगेरी समूह चरणबाटै बाहिरियो

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए राती भएको खेलमा हंगेरी र जर्मनीले २-२ गोलको बराबरी खेल खेलेका छन्।

जर्मनीको घरेलु मैदान ‘एलियान्ज एरेना’मा भएको समूह ‘एफ’को अन्तिम चरणको खेलमा हंगेरीले ४ पटक विश्वकप विजेता जर्मनीलाई बराबरीमा रोकेको हो। पहिलो हाफको ११औं मिनेटमा हंगेरीले एडम सजालाईको गोल मार्फत अग्रता लिएको थियो।

पहिलो हाफ अप्रत्याशित तरिकाले आफ्नो पक्षमा पारेको हंगेरीले दोस्रो हाफको ६६औं मिनेटमा गोल खायो। जर्मनीका स्ट्राइकर काई हाभर्जले हेडर गोल गर्दै जर्मनीलाई बराबरीमा पुर्याए।

त्यसको १ मिनेट पश्चात् हंगेरीले पुनः खेलमा अग्रता लिन सफल भयो। यसपाली एडम सजालाईको पासमा अन्द्रास सकाफरले गोल गर्दा हंगेरीले फेरि खेलमा अग्रता लिएको थियो।

अधिकांश समय हंगेरीले अग्रता लिएको खेलको ८४औं मिनेटमा जर्मनीका मिडफिल्डर लियोन गोरेजकाले शानदार गोल गर्दै घरेलु टोलीलाई बराबरीमा पुर्याए।

खेलमा त्यसपछि कुनै गोल नहुँदा हंगेरीको युरो कप २०२० यात्रा अन्त्य भएको हो। उता जर्मनी समूह ‘एफ’को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?