युरो कप खेल ३३ : स्लोभाकियालाई फराकिलो अन्तरले पराजित गर्दै स्पेन अन्तिम १६ मा

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत बुधवार राती भएको समूह ‘ई’को खेलमा स्पेनले स्लोभाकियालाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

स्पेनको घरेलु मैदान सेभिलमा भएको समूह चरणको अन्तिम खेलमा स्पेनलाई जीत अपरिहार्य रहेको थियो। सो अवस्थामा स्पेनले स्लोभाकियाविरुद्ध उत्कृष्ट प्रदर्शनी देखायो।

खेलको १२औं मिनेटमा स्पेनिश स्ट्राइकर मोराटाको पेनाल्टी बचाउ गरेका स्लोभाकियाका गोलरक्षक मार्टिन डुबराभकाले खेलको ३०औं मिनेटमा आत्मघाती गोल गर्दा स्पेनले अग्रता लिन पुग्यो। त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा स्पेनका रक्षक लापोर्टले स्पेनको अग्रता दोब्बर बनाए।

खेलको दोस्रो हाफमा स्पेनले अरु तीन गोल थप्यो। ५६औं मिनेटमा पाब्लो साराबिया, ६७ औं मिनेटमा फेरान टोरेस र ७१औं मिनेटमा कुकाले आत्मघाती गोल गर्दा स्पेनले स्लोभाकियाको पोस्टमा ५ गोल गर्न सफल भयो।

स्पेनले स्लोभाकियाविरुद्ध ५ गोल गर्दा यस युरो २०२० प्रतियोगिताको एक खेलमा सर्वाधिक गोल गर्ने टोली पनि बन्न पुग्यो। समूह ‘ई’को दोस्रो स्थानमा रहँदै स्पेनले अन्तिम १६ को यात्रा सुनिश्चित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?