युरो कप २०२० : ‘ग्रुप अफ डेथ’ मा कसको कति सम्भावना ?

काठमाडौं । युरो कप २०२० शुरु हुनु अगाडी नै सम्पूर्ण फुटबल प्रेमीको आँखा समूह ‘एफ’ मा गडेको थियो । युरोपका ‘पावर हाउस’ मानिने तीन राष्ट्र फ्रान्स, जर्मनी तथा पोर्चुगल एउटै समूहमा पर्दा समूह ‘एफ’ स्वत ‘ग्रुप अफ डेथ’ हुन पुग्यो ।

युरो कप २०२० मा भएको दुई खेल पश्चात् यस समूहले आफै ‘ग्रुप अफ डेथ’ भन्ने वाक्यांशलाई प्रमाणित गरेको छ । यस समूहमा रहेका बलिया टोली फ्रान्स, जर्मनी र पोर्चुगल मध्ये अन्तिम चरणको खेलसम्म पनि विजेता टोलीको छिनोफानो हुन सकेको छैन ।

विजेता टोली मात्र नभएर यस समूहबाट नकआउट चरणमा जाने शीर्ष दुई टोलीको पनि केही टुङ्गो लागेको छैन । अझै यस ‘ग्रुप अफ डेथ’मा सबैभन्दा कमजोर मानिएको हंगेरीले समेत उत्कृष्ट प्रदर्शन देखाउँदा समूह ‘एफ’बाट अन्तिम १६ मा स्थान बनाउन चारवटै राष्ट्रको ढोका खुल्ला रहेको अवस्था छ ।

सबै प्रतियोगितामा एउटा समूहलाई ‘ग्रुप अफ डेथ’ भनेर नामाकरण गरिन्छ र सधैं त्यस समूहबाट अप्रत्याशित नतिजाहरू आइरहेको पनि हुन्छ । यस पटक पनि त्यस्तै भएको छ । सबैभन्दा कम आँकिएको राष्ट्र हंगेरीले वर्तमान विश्वकप विजेता फ्रान्सलाई बराबरीमा रोक्न सफल भयो ।

त्यस्तै पहिलो खेलमा हंगेरीविरुद्ध शानदार जीत निकालेको पोर्चुगल दोस्रो खेलमा जर्मनीको उत्कृष्ट फुटबल प्रदर्शनीको अगाडि स्तब्ध हुन पुग्यो । उता जर्मनीले पनि पहिलो खेलमा फ्रान्सविरुद्ध आत्मघाती गोल गर्दै प्रतियोगिताको शुरुवात हारबाट गर्न बाध्य भयो ।

आज राती समूह ‘एफ’का चारवटै टोलीले अन्तिम चरणको खेल खेल्दै छन् । दुई खेलमा एक जित र एक बराबरीको नतिजा निकालेको फ्रान्सले चार अंक बटुलेर अन्तिम १६ को यात्रा सुनिश्चित गरिसकेको छ । तर समूह चरणको आफ्नो अन्तिम खेलमा पोर्चुगलको सामना गर्न गइरहेको फ्रान्सको टोलीले केवल जितको लक्ष्य राख्ने प्रष्ट देखिन्छ ।

सन् २०१६ युरो कप फाइनल खेलको बदलाको भावना फ्रान्समा अझै जीवित नै छ । त्यस बेला पोर्चुगलले फ्रान्सलाई उसैको घरेलु मैदानमा पराजित गरेर आफ्नो पहिलो युरो कपको उपाधि जितेको थियो । समयले यी दुवै राष्ट्रलाई फेरि त्यही बाटो डोर्याउंदा फ्रान्स पोर्चुगललाई पराजित गर्दै उसको युरो कप यात्रा समूह चरणबाटै अन्त्य गर्न चाहन्छ ।

उता वर्तमान युरो कप विजेता पोर्चुगलको लक्ष्य पनि कहाँ कम छ र ? कप्तान क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा ‘ब्याक टू ब्याक’ युरो कप उपाधि उचाल्ने दाउमा रहेको पोर्चुगल फ्रान्सलाई पराजित गर्दै समूह विजेता बन्न चाहन्छ । यस प्रतियोगितामा अहिलेसम्म ३ गोल गरिसकेका रोनाल्डो केही व्यक्तिगत कीर्तिमान रच्ने क्रममा छन् ।

फिफा अन्तराष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता बनेर नयाँ कीर्तिमान रच्नबाट रोनाल्डो केवल २ गोल पछाडि छन् । उनी यस युरो कपकै दौरान कीर्तिमान रच्न चाहन्छन । तसर्थ पोर्चुगलको लक्ष्य पनि युरो कप उपाधि नै रहेको प्रष्ट देखिन्छ ।

चार पटक विश्वकप विजेता जर्मनीले पछिल्लो खेलमा पोर्चुगलविरुद्ध यस प्रतियोगिताकै उत्कृष्ट खेल खेल्यो भन्नु गलत हुँदैन । बलियो टोली पोर्चुगलविरुद्ध जर्मनीको खेल प्रशंसनीय थियो । पहिलो खेलमा फ्रान्सविरुद्ध १-० गोलको पराजय भोगेको जर्मनीले दोस्रो खेलमा जुन प्रदर्शन देखायो, त्यस्तो प्रदर्शनले जर्मनीलाई समूह विजेता बन्न मात्र होइन, युरो कप उपाधि नै दिलाउन सक्छ ।

आफ्नो अन्तिम खेलमा हंगेरीको सामना गर्न गइरहेको जर्मनीको दाउ शीर्ष स्थानमा नै रहनेछ । तर त्यसो गर्नु उसका लागि सजिलो भने पक्कै छैन । उता फ्रान्सलाई बराबरीमा रोकेको हंगेरीको आत्मविश्वासले आकाश चुमिरहेको छ । हंगेरीले पनि अन्तिम १६ मा स्थान बनाउने सम्भावना उत्तिकै जिवित रहँदा जर्मनीले जब्बर हंगेरी टोलीको सामना गर्नु पर्ने छ ।

यो बेग्लै कुरा हो कि यस समूहबाट पनि शीर्ष तीन टोलीले नै अन्तिम १६ को यात्रा गर्ने निश्चित भए पनि कुनै पनि टोली तेस्रो स्थानमा रहेर समूह चरणको यात्रा टुङ्ग्याउन चाहँदैन । अझै अन्तिम १६ का संभावित प्रतिद्वन्दी टोलीहरु देख्दा समूह ‘एफ’का चारवटै टोलीको आँखा शीर्ष स्थानमा नै रहनेछ ।

 

संभावित अन्तिम १६ का प्रतिद्वन्दी

समूह ‘एफ’को विजेता टोलीले समूह ‘ए’को तेस्रो स्थानमा रहेको टोली स्विट्जरल्यान्ड वा समूह ‘बी’को तेस्रो स्थानमा रहेको टोली फिनल्यान्डसंग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै समूह ‘एफ’को उप-विजेता टोलीले समूह ‘डी’को विजेता टोलीसंग प्रतिस्पर्धा गर्नेछ । अर्थात् समूह ‘एफ’को उप-विजेतालाई इङ्ल्यान्डले अन्तिम १६ को प्रतिस्पर्धामा पर्खिरहेको अवस्था छ ।

त्यस्तै समूह ‘एफ’मा तेस्रो स्थान ओगट्ने टोलीले समूह ‘बी’को विजेता बेल्जियम वा समूह ‘सी’को विजेता नेदरल्यान्ड्संसंग प्रतिस्पर्धा गर्ने तय भएको छ ।

यसरी समूह ‘एफ’ को उप-विजेता र तेस्रो स्थानमा रहने टोलीले बलिया टोलीको सामना गर्नु पर्ने हुन्छ ।

 

ग्रुप अफ डेथ कसले जित्छ त ?

अहिलेसम्म फ्रान्सको चार अंक रहेको छ । अर्थात् फ्रान्सले पोर्चुगललाई पराजित गरेको खण्डमा फ्रान्स समूह ‘एफ’ बिजेता घोषित हुनेछ ।

यदि जर्मनीले हंगेरीलाई पराजित गरेको खण्डमा भने जर्मनी कुनै पनि हालतमा पोर्चुगल भन्दा तल झर्ने छैन । उता पोर्चुगलले फ्रान्सलाई पराजित नै गरेपनि ‘हेड टू हेड’ को आधारमा पोर्चुगलभन्दा जर्मनी माथि रहनेछ । र, फ्रान्स पहिलोबाट तेस्रो स्थानमा झर्नेछ ।

यदि फ्रान्स र हंगेरी दुवैले आ–आफ्नो खेल जितेको खण्डमा फ्रान्स शीर्ष स्थानमा रहनेछ भने हंगेरीले दोस्रो स्थानमा रहँदै समूह चरणको खेल अन्त्य गर्नेछ । अर्थात् वर्तमान युरो कप विजेता पोर्चुगलको युरो कप २०२० को यात्रामा पूर्णविराम लाग्नेछ । अर्थात समूह ‘एफ’मा सबै नतिजाको सम्भावना उत्तिनै बलियो देखिन्छ ।

त्यस कारण आज समूह ‘एफ’ अर्थात् ‘ग्रुप अफ डेथ’का चारवटै टोलीले आफ्नो शत प्रतिशत दिएर प्रतिस्पर्धा गर्ने छन्। शुरु देखि नै गर वा मरको स्थितिमा रहेका यी चार टोलीलाई आज अग्निपरीक्षा पार गर्नु पर्ने ठूलो चुनौती रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?