सन्तोषी सुब्बाको हत्या अपडेट : घटनास्थलबाट बसपार्कसम्म कुकुरले पच्छ्यायो ट्रयाक

काठमाडौं । मंगलवार बिहान च्याउ टिप्न भनेर दक्षिणकालीको जंगलमा गएका दुई जना महिलाले शव देखेपछि आसपासको क्षेत्रमा हो-हल्ला भयो ।

एकै छिनमा स्थानीयहरुको भिड जम्मा भयो । इलाका प्रहरी कार्यालय फर्पिङको टोली तत्कालै घटनास्थल पुग्यो ।

निर्मम तरिकाले हत्या गरिएको क्षतविक्षत शव देखेपछि इलाका प्रहरी कार्यालय फर्पिङकी कार्यालय प्रमुख सरला गिरीले महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक टोलीलाई खबर गरिन् ।

***

प्रहरीको अनुसन्धानबाट हिजो क्षतविक्षत अवस्थामा फेला पारिएको शव सन्तोषी सुब्बाको भएको खुलेको छ । दक्षिणकालीको बसपार्क नजिकै रहेको (प्रयोगमा नआएको) शौचालयमा सलले घाँटी कसेर ढुंगा वा केही गर्‍हौँ वस्तुले उनको अनुहार क्षतविक्षत पारिएको अवस्थामा शव भेटीएको थियो ।

सन्तोषीको पेट सुन्निएको अवस्थामा थियो । उनी गर्भवती रहेको आशंका गरिएको छ तर भजाइनल स्वाबको रिपोर्ट आएपछि मात्रै उनको बलात्कार भए नभएको पुष्टि हुने महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले लोकपथलाई जानकारी दिए ।

फरेन्सिक रिपोर्टका अनुसार उनको करङ भाँचिएका छन् । निकै नै विभत्स तरिकाले उनको हत्या गरिको छ ।

उनको शव भेटिए नजिकै झोला भेटिएको थियो । उक्त झोलामा सिक्री, टप र मेकअपका सामान, सेनिटाइजर भेटिएको थियो ।

तालिम प्राप्त कुकुरले घटनास्थल नजिकैको बसपार्कसम्म ट्रयाक पच्छ्याएको थियो । बसपार्कमा पुगेपछि कुकुर रोकिएको थियो । हत्यारा त्यहाँबाट फरार भएको हुनसक्ने आशंका गरेको छ । किनभने कुकुरले अन्तीम बिन्दुसम्म ट्रयाक गर्न सक्छ । यो घटनामा कुकुर सन्तोषीको ज्याकेट सुँघेर अगाडी बढेको थियो । कुकुर सिधै बसपार्कसम्म गयो र अलमलिएको कारण बसपार्कबाट हत्यारा कुनै सवारीमा फरार भएको प्रहरीको अनुमान छ।

सन्तोषीको झोलमा भिजिटिङ कार्डहरू फेला परेका थिए। सोही भिजिटिङ कार्डमा भएका नम्बरहरुमा पनि प्रहरीले सम्पर्क गरिरहेको बताएको छ ।

***

‘सन्तोषी आइतवारदेखी सम्पर्क बिहिन भएकी थिइन् । घटनाको अनुसन्धानमा महाशाखा र महानगरीय प्रहरी परिसरको टोली सक्रिय छ।’ प्रहरी स्रोतले भन्यो ।

सन्तोषीको शव पोष्टमार्टमका लागि त्रि.वी शिक्षण अस्पताल पठाइएको छ। पोष्टमार्टम रिपोर्ट आज साँझसम्म आउने प्रहरीको भनाइ छ ।

सन्तोषी सुब्बा विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल थिइन् । चराचुरूङ्गी तथा जीवजन्तुको आवाज निकालेर उनी सामाजिक सञ्जालमा निकै चर्चित थिइन् । काठमाडौंको कालो पुलमा धनबहादुर तामाङले उनलाई धर्मछोरी बनाएर राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?