सोलुखुम्बुका प्रमुख तीन दलले उम्मेदवार छाने

सल्लेरी (सोलुखुम्बु), २१ असोज ः जिल्लाका प्रमुख तीन दल नेपाली काग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी (केन्द्र) सोलुखुम्बुले प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेका छन् ।एमाले सोलुखुम्बुको बुधबारदेखि जारी बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।बैठकले प्रतिनिधिसभाका लागि पार्टी जिल्ला अध्यक्षसमेत रहनुभएका मानवीर राईको नाम सर्वसम्मतिमै सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै, प्रतिनिधिसभाको समानुपातिकतर्फ नेता सोनाम ग्याल्जेन शेर्पा र सरस्वती कुलुङलाई सिफारिस गरेको प्रचार विभाग सचिव बीरउदास श्रेष्ठले जानकारी दिनुभयो ।प्रदेशसभाको प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ बाट वुद्धिकुमार राजभण्डारी र समानुपातिकतर्फ आङङिमा लामाको नाम सर्वसम्मत सिफारिस गरेको छ ।यस्तै, क्षेत्र नं १ मा सर्वसम्मत उम्मेदवार छनौट गर्न नसक्दा आकांक्षीको नाम माथिल्लो कमिटिमा सिफारिस गर्ने निर्णय गरिएको छ । बैठकले क्षेत्र नम्बर १ बाट नेता उत्तम बस्नेत, जुद्धबहादुर कार्की, डिबी किराती, भीमराज राई र लोचनकुमार शर्मालाई सिफारिस गरेको हो । समानुपातिकतर्फ कल्पना गिरी बस्नेत, डिल्लीबहादुर राई र धनकुमार विश्वकर्मालाई सिफारिस गरिएको छ ।नेकपा (माओवादी केन्द्र) सोलुखुम्बुले यसअघिनै उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । प्रतिनिधिसभाका लागि पोलिटव्यूरो सदस्य शिबबहादुर बस्नेतलाई सिफारिस गरेको छ । यस्तै, प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट पोलिटव्यूरो सदस्य हेमकुमार राई र क्षेत्र नम्बर २ बाट पूर्वसांसद आङदावा शेर्पालाई सिफारिस गर्ने निर्णय गरेको छ ।यसैगरी, नेपाली काँग्रेस सोलुखुम्बुले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य बलबहादुर केसीको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ प्रभुराम बस्नेतको नाम छनौट गरेको छ ।प्रदेश सभाको लागि १ नम्बर क्षेत्र प्रत्यक्षका लागि जिल्ला सभापति विनोदकुमार बस्नेत, जिल्ला सचिव धनजन राई र समानुपातिकका लागि कुसराज राई र जयप्रसाद राईलगायतको नाम तय गरेको जिल्ला सचिव धनजन राईले जानकारी दिनुभयो ।त्यस्तै, प्रदेशको क्षेत्र नम्बर २ का लागि प्रत्यक्षतर्फ आङगेलु शेर्पा, कुसाङ शेर्पालगायतको नाम पठाइएको राईले जानकारी दिनुभयो । क्षेत्र नम्बर २ को समानुपातिकका लागि प्रेमबहादुर थापामगर र भोजराज कार्की लगायतको नाम पठाइएको छ ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?