युरो कप खेल ३२ : ह्यारी मगवायरको पुनरागमनमा चेकविरुद्ध इङ्ल्यान्ड विजयी

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए राति खेलिएको समूह ‘डी’को अन्तिम खेलमा इङ्ल्यान्डले चेक गणतन्त्रलाई १-० गोलले पराजित गरेको छ।

लन्डनको ‘वेम्बली’ मैदानमा १९,१०४ दर्शक बिच भएको खेलमा घरेलु टोली इङ्ल्यान्ड विजयी भएको हो। यस खेल अघि नै दुवै टोलीले अन्तिम १६ को यात्रा सुनिश्चित गरिसकेको भएपनि समूह विजेता पत्ता लगाउन सो खेल महत्वपूर्ण रहेको थियो।

 

खेलको १२औं मिनेटमा नै इङ्ल्यान्डले अग्रता लियो। एस्टन भिल्लाका स्टार खेलाडी ज्याक ग्रिलिशको पासमा म्यान्चेस्टर सिटीका फरवार्ड रहिम स्टरलिङले गोल गर्दा खेलमा इङ्ल्यान्डले खेलमा अग्रता लिएको थियो। दुवै टोलीले बराबरीको प्रतिस्पर्धा देखाए पनि खेलमा अरु कुनै गोल हुन सकेन। इङ्ल्यान्ड तथा म्यान्चेस्टर युनाइटेडका प्रमुख रक्षक ह्यारी मगवायरले खेलमा उत्कृष्ट प्रदर्शनी गरे।

गत मे महिनामा प्रिमियर लिग खेलको दौरान इन्जुरी बोकेका मगवायरले चेकविरुद्ध पुनरागमन गरेका हुन्। उनको उपस्थितिले इङ्ल्यान्डलाई ‘नकआउट’ चरणमा ठूलो मद्दत मिल्नेछ। यसै बिच समूह विजेता बन्दै इङ्ल्यान्डले अन्तिम १६ को यात्रा पक्का गरेको छ भने चेक गणतन्त्र तेस्रो स्थानमा रहँदै ‘नकआउट’ चरणमा प्रवेश गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?