युरो कप खेल ३१ : स्कटल्यान्डलाई पराजित गर्दै क्रोएसिया अन्तिम १६ मा

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए राती भएको समूह ‘डी’को खेलमा क्रोएसियाले स्कटल्यान्डलाई ३-१ गोलले पराजित गरेको छ।

स्कटल्यान्डको राजधानी ग्लासगोमा भएको समूह ‘डी’को अन्तिम चरणको खेलमा दुवै टोलीलाई जित्नै पर्ने दवाव थियो। ९,८९६ दर्शक माझ खेलिएको सो खेलमा क्रोएसियाको तराजु भारी सावित भयो।

खेलको १७औं मिनेटमा क्रोएसियाले अग्रता लियो। इभान पेरिसिचको पासमा निकोला भलासिचले गोल गर्दा क्रोएसियाको टोलीले अग्रता लिएको थियो। तर पहिलो हाफको ४२औं मिनेटमा स्कटल्यान्डले बराबरी गोल गर्न सफल भयो।

स्कटिश स्ट्राइकर क्यालम मेक्रेगरले गोल गर्दै स्कटल्यान्डलाई खेलमा फर्काउन सफल भए। यद्यपि दोस्रो हाफको ६२औं मिनेटमा क्रोएसियाका कप्तान लुका मोड्रीचले गोल गरे। त्यस्तै खेलको ७७औं मिनेटमा पेरिसीचले क्रोएसियाको लागि तेस्रो गोल गर्दा क्रोएसियाले अन्तिम १६ को यात्रा सुनिश्चित गरेको हो।

त्यस्तै समूह ‘डी’को अन्तिम स्थानमा रहेको स्कटल्यान्डले युरो २०२० को यात्रा अन्त्य गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?