बुटवल । बुटवल उपमहानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८÷७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरसभाको नवौं अधिवेशनमा प्रमुख शिवराज सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोना भाइरस महामारीको दोस्रो र सम्भावित तेस्रो लहरसँग जुध्दै त्यसको रोकथाम, व्यवस्थापन र उपचारमा केन्द्रित हुनेगरी कार्यक्रम लक्षित गर्ने नीति लिइएको बताए ।
उनले महामारी र अन्य विपद्बाट नागरिकको जीवन रक्षलाई नीति कार्यक्रमको केन्द्रविन्दुमा राखेको जानकारी दिंदै संघीय र प्रदेश सरकारको समन्वयमा सबै नगरवासीलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चिताका लागि पहल गरिने बताए । नीति तथा कार्यक्रम बालबालिकाको स्वास्थ्य र शिक्षा, युवाहरुका लागि रोजगारी सिर्जना र उद्यमशीलता; सीप विकास, जेष्ठ नागरिकलाई सम्मानमा केन्द्रित रहेको नगर प्रमुख सुवेदीकोे भनाइ थियो ।
कोभिड महामारीको पहिलो र दोस्रो लहरले सामाजिक र आर्थिक क्षेत्रमा प्रभावित पारिरहेको अवस्थामा ल्याइएको नीति तथा कार्यक्रम रोजगारी सृजना गरी आर्थिक विकासलाई निरन्तरता दिने, अधुरा बार्षिक र बुहबर्षीय योजना सम्पन्न गर्ने, वातावरणमैत्री पूर्वाधार विकास, सामाजिक र आर्थिक विकासबाट नगरवासीको जीवनस्तर उकास्ने, स्थानीय सरकारलाई प्राप्त अधिकारको यथेष्ट प्रयोग गर्ने र स्थानीय सेवा प्रवाहलाई जनमैत्री बनाउने जस्ता कुराहरुमा केन्द्रित छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले उपमहानगरको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीतिको स्पष्ट खाकाअनुसार नगर विकास योजना तर्जुमा गरी कार्यान्वयनलाई निदृष्ट गरेको नगरप्रमुखले स्पष्ट पारे ।
कोरोना महामारीको सम्भावित तेस्रो लहरको पूर्वतयारी लक्षित ल्याइएको नीति कार्यक्रमले जनस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको छ । सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, सुविधासम्पन्न बनाउँदै मोतियाविन्दु भएर पनि आर्थिक अभावका कारण शल्यक्रिया गराउन नसक्नेहरुका लागि शल्यक्रिया गर्दा लाग्ने खर्चमा अनुदान दिने घोषणा बुटवलले नीति कार्यक्रममार्फत् गरेको छ ।
नीति तथा कार्यक्रममा महिलाहरुमा स्तन क्यान्सर, प्रसुती तथा गर्भवती परीक्षण, पाठेघर परिक्षण र १४ वर्ष मुनिका बालबालिकाहरुको स्वास्थ्य समस्याको पहिचान र उपचारमा सहयोग पु¥याउने उल्लेख गरिएको छ ।
नगरका गर्भवतीलाई आइरन, क्याल्सियम लागायतका औषधीहरु निशुल्क वितरण गर्दै आधारभूत प्रयोगशाला सेवा निशुल्क प्रदान गर्ने, ‘नगर प्रमुख ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम’लाई प्रभावकारी बनाई निशुल्क औषधी वितरण गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
उपमहानगरपालिकामा सञ्चालन गरिएका सरकारी स्वास्थ्य संस्थाहरुलाई सुविधा सम्पन्न बनाउँदै पूर्ण खोप शुनिश्चितताका लागि सम्पूर्ण खोप क्लिनिक, कोल्ड चेन सेन्टरलाई थप प्रभावकारी बनाउँदै शहरी स्वास्थ्य केन्द्रबाट साप्ताहिक रुपमा खोप प्रदान गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
बुटवलले गुणस्तरीय शिक्षामा समतामूलक अवसर सृजना गर्दै विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर सुधार गर्ने र सिकाई उपलब्धीलाई मापन योग्य बनाउँदै लैजाने नीति अवलम्वन गरेको छ । त्यसका लागि प्रविधि मैत्री विद्यालयको विकास गरी ‘सिङ्गो बुटवल, एक विद्यालय’को अवधारणा अनुरुप शिक्षाको नयाँ पद्धति अवलम्बन गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया