कर्मचारीको कमजोर समन्वयका मारमा सर्वसाधारण

RSS
0
Shares

काठमाडौं । कोरोना सङ्क्रमणको गतिलाई रोक्न देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएसँगै नागरिकको जनजीवन कष्टकर बनेको छ । यो समयमा अतिआवश्यक कामका लागि आवतजावत गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयको सवारी सञ्चालन अनुमति अनिवार्य गरिएको छ ।

गृह मन्त्रालयले प्रदेश एक र दुईको सवारी सञ्चालन अनुमति दिने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसमा भक्तपुर प्रशासनलाई दिएको छ । यस्तै वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र लुम्बिनी तथा कर्णाली प्रदेशका जिल्लाहरुको सिफारिसको आधारमा ललितपुर जिल्ला प्रशासन कार्यालयले सवारी सञ्चालन अनुमति दिने व्यवस्था गरेको छ ।

यसले गर्दा विभिन्न जिल्लाबाट अतिआवश्यक कामको लागि उपत्यका जाने नागरिकलाई भने असहज भएको गुनासो बढेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट पठाइएको सवारी सिफारिसको भक्तmपुर प्रशासन कार्यालयबाट समयमा नै जवाफ नदिने हुँदा समस्या भएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाको भनाइ छ ।

जिल्लाबाट अतिआवश्यक कार्यको लागि आएको निवेदनअनुसार सवारी सञ्चालन अनुमतिका लागि सिफारिस गरिए पनि भक्तपुरबाट अनुमति नआउँदा समस्या भएको उन्को भनाइ छ ।

वैदेशिक रोजगारीको भिसा आएपछि सोलु दूधकुण्ड नगरपालिका–५ वडा कार्यालयको सिफारिसका आधारमा आइतबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा निवेदन दिएपनि दुई दिनसम्म अनुमति नपाउँदा समस्या भएको स्थानीयवासी लाक्पा शेर्पाले गुनासो गर्नुभयो । सोमबार अबेरसम्म पनि प्रशासन कार्यालयबाट अनुमति नपाएपछि वडाकै सिफारिसको आधारमा काठमाडौँ हिंडे पनि पत्ताले बाट फर्कनुपर्ने उन्को भनाइ छ ।

सवारी सञ्चालन अनुमति बिना उपत्यका हिडेका करीब पाँच वटा गाडीलाई सोलुखुम्बु र ओखलढुङ्गाको सिमाना पत्तालेबाट फिर्ता गरिएको यहाँका प्रमुख जिल्ला अधिकारी गणेशबिक्रम शाहीले बताए । भक्तmपुरबाट सवारी पास नपठाउने र यात्रुले पनि स्थानीय तहको मात्रै सिफारिस बोकेर हिंड्दा समस्या भएको उहाँको भनाइ छ ।

महाकुलुङ गाउँपालिका तथा सोलु दूधकुण्ड नगरपालिकाको विभिन्न वडाबाट सिफारिस लिएर सोमबार काठमाडौँका लागि छुटेका चार वटा जीप पत्तालेबाट फर्काएको सोलुखुम्बु प्रहरीले जनाएको छ । दुई जिल्ला प्रशासन कार्यालयका कर्मचारीबीचको समन्वय अभाव हुँदा सर्वसाधारण नागरिकले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट पठाइएको सिफारिसअनुसारको अनुमति लिनको लागि तेस्रो व्यक्तिले पहल गर्नुपर्ने बाध्यता रहेको मिडिया ब्रोडकास्टका सञ्चालक डीबी श्रेष्ठले बताउँनुभयो । उहाँका अनुसार भक्तपुर र सोलुखुम्बु जिल्ला प्रशासनका कर्मचारीबीचको समन्वय कमजोर हुँदा उपत्यका जाने नागरिकले बढी सास्ती खेप्नुपरेको छ ।

यही असार ३ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंको सवारी पास लिएर सञ्चारको टावर मर्मत गर्नको लागि सोलुखुम्बु आउनुभएका श्रेष्ठको टोलीले शुक्रबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा निवेदन दिएको भएपनि तीन दिन बितिसक्दा समेत अनुमति नपाएको श्रेष्ठले गुनासो गर्नुभयो ।

अघिल्लो वर्ष पनि उपत्यकाबाटै सवारी अनुमति आउने भएपनि खासै असहजताको महशुस नभएको यातायात व्यवसायी दावा शेर्पाले बताए ।

सल्लेरीबाट काठमान्डौ जानको लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा शुक्रबार वडा कार्यालयको सिफारिसमा पेश भएको निवेदनको जवाफ नआएपछि पुनः आइतबार अर्को सिफारिस गरिएको सवारी चालक प्रज्वल मगरले बताइन् ।

एफएमको टावर निर्माणको लागि आएको टोली फर्कनको लागि निवेदन दिएको भएपनि जवाफ नआएपछि पुनः सोही एफएमको निवेदनसहित आइतबार अर्को निवेदन पेश गरिएको उन्को भनाइ छ । दुई निकायबीच समन्वय नहुँदा यस्ता समस्याहरु अन्य जिल्लामा पनि भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?