दाङ सामूहिक बलात्कार प्रकरण : एक जना पक्राउ, अन्य दुई फरार

लोकपथ
442
Shares

काठमाडौं । गत आइतवार राति करिब १० बजे तिर दाङको लमही ७ स्थित सम्राट सिमेन्ट उद्योगमा चुन ढुंगा छोडेर फर्किंदै गरेको टिप्परलाई बाटौमै रोकेर तीन जना युवाले तरवार देखाई चालक र सहचालकलाई रुखमा बाँधेर टिप्परमै सवार चालककी श्रीमती र सालीमाथि सामूहिक बलात्कार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमवार पीडित महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो र रिपोर्टमा दुबै जनामाथि बलात्कार भएको देखिएको छ ।

प्रहरीले घटनामा संलग्न तीन जनामध्ये एक जनालाई पक्राउ गरिसकेको छ ।

“घटनामा संलग्न किरण बुढालाई पक्राउ गरि आवस्यक अनुसन्धान गरिरहेका छौं । उनले घटना स्वीकारेका छन् ।” वडा प्रहरी कार्यालय लमहीका प्रमुख तथा प्रहरी निरीक्षक राजन पौडेलले लोकपथलाई बताए ।

पीडित महिलाले सोमवार नै वडा प्रहरी कार्यालयमा गएर लिखित जाहेरी दिएपछि प्रहरीले मंगलवार तीन वटा शीर्षकमा तीन जनाविरूद्ध मुद्दा दर्ता गरेको प्रहरी निरीक्षक पौडेलले बताए ।

घटनामा संलग्न अन्य फरार दुई युवकको खोजी कार्य प्रहरीले तीव्र पारेको छ। फरार दुई युवकको पहिचान खुलिसकेको निरीक्षक पौडेलले जानकारी दिए ।

हाल फरार हुनेमा लमही नगरपालिका वडा नं- ७ कमानपुरका २० वर्षीय प्रेम परियार र लमही-६ देउपुरका २० वर्षीय अर्जुन चौधरी (अरविन्द्र) रहेका छन्।

“आरोपितहरू उम्केर जान सक्ने सम्भावना छैन, छिट्टै पक्राउ गर्छौं” । निरीक्षक पौडेलले भने ।

फरार व्यक्तिहरू यसअघि पनि चोरी मुद्दामा जेल परिसकेका छन् ।

हाल प्रहरी नियन्त्रणमा रहेका लमही ७ कमानपुरका २१ वर्षीय किरण बुढा पनि १५ दिन अगाडिमात्रै चोरी मुद्दामा जेल परेको प्रहरी निरीक्षक पौडेलले बताए।

प्रहरीले टिपर चालकको साथबाट लुटिएको मोबाइल र नगद २६ हजार ४ सय ५० रूपैयाँ प्रेम परियारको घरबाट बरामद गरेको छ ।

फरार २ जनाको खोजी कार्य तिव्र पारिएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?