नेपालमा कोरोना खोप परीक्षणको बाटो खुल्यो

काठमाडौं । नेपालमा कोरोना विरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको सोमवार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिदैँ बाटो खोलेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयले नेपाली जनताले खोप पाउने विषय पनि सहज हुने बताए ।

अहिले विश्वभरिका जनताले लगाइरहेको खोप पनि परिक्षणमै रहेकोले नेपालले खोप उत्पादक कम्पनी अथवा देशलाई परीक्षणको लागि अनुरोध गर्न सकिने बताए । परीक्षण गर्न आउने खोप उत्पादकले र त्यो देश जनताको अधिकतम हितलाई ध्यान दिएर काम गर्ने हुँदा अन्यथा लिन नहुने पनि डा. ज्ञवालीले बताए । नेपालमा हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ताको सफल परिक्षण भएकोले कोरोना विरुद्धको खोपको परिक्षण पनि फाइदाजनक हुने डा. ज्ञवालीले बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना सम्बन्धी विभिन्न अध्ययन गरिरहेको बताएको छ । साथै आगामी असार १७ र १८ गते काठमाडौंमा बृहत सम्मेलन गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?