सिन्धुपाल्चोकका बाढी पीडितलाई काठमाडौं महानगरले दियो २ करोड ५० लाख

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीको विपत्तिमा परेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ ।

काठमाडौं महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० लाख रुपैयाँ सहयोग गरेको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोमवार सिन्धुपाल्चोक पुगेर सो सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै प्रमुख शाक्यले विपद्को बेलामा आफुहरुले थोरै भएपनि सहयोग गरेको बताए । धेरै क्षति भएको भएपनि माया र आत्मियताको कुनै मुल्य नहुने भन्दै उनले सिन्धुपाल्चोकको विपतिमा काठमाडौं महानगरपालिकाको साथ रहेको र आगामी दिनमा पनि साथमै रहने बताए । पानि पर्ने सिजन अझै आउन बाँकी रहेको उल्लेख गर्दै उनले आगामी दिनमा थप पूर्वाधारको क्षति हुन नदिन ध्यान दिनपनि आग्रह गरे ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री तामाङले विपद्ग्रस्त पालिकाहरुले विपद् व्यवस्थापनका लागि छुट्टै कोष खडा गर्न अनुरोध गरे । विगतमा विपत्तिहरुमा उठ्ने गरेको पैसा कानुनी जटिलताका कारण सम्बन्धित पीडितको हातमा नपरेको भन्दै उनले यस विपतीमा भने सबै पालिकाहरुले आ–आफ्नो कोष सञ्चालन गर्नुपर्नेमा जोड दिए । देश विदेशबाट सहयोग गर्न चाहानेले सोही कोषमा जम्मा गर्न पनि उनले आव्हान गरे । उनले थप क्षति हुन नदिनका लागि पुर्ननिर्माणको काममा लाग्ने पनि बताए ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले समयमै नगरबासीलाई सचेत हुन सुचना प्रवाह गरेका कारण मानवीय क्षति कम भएको उल्लेख गरे । विकास निर्माणको कामको संरचना क्षति हुँदा झनै समस्यामा परेको उनको भनाई छ । हाल अर्बौको क्षति भएको भन्दै अझै नदीले कटान गरिरहेकाले त्यसलाई न्युनिकरणको लागि प्रयास गरिरहेको उहाँले बताए ।

सिन्धुपाल्चोकमा असार १ गतेको बाढीले निकै क्षति पुर्‍याएको छ । विभिन्न ठाउँबाट राहत संकलन समेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?