आइसीसी विश्वकप क्रिकेट लिग-२ को मिति सार्वजनिक, नेपाली टोलीको प्रशिक्षण आजबाट शुरु

काठमाडौं । अर्को महिना स्पेनमा आयोजना हुने ‘आइसीसी विश्वकप क्रिकेट लिग-२’ को मिति सार्वजनिक भएको छ।

नेपाल, नामिबिया र स्कटल्यान्डले खेल्ने लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज आगामी जुलाई महिनाको २० तारीख देखि ३० तारीखसम्म आयोजना हुने पक्का भएको जानकारी ‘क्रिकबज’ले दिएको छ। उक्त प्रतियोगिता स्पेनको ‘डेजर्ट स्प्रिङ क्रिकेट मैदान’मा खेलिने कार्यक्रम रहेको छ।

सो प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आज मंगलवारबाट शुरू हुने भएको छ। बन्द प्रशिक्षणका लागि नेपाल क्रिकेट संघ ‘क्यान’ले २० खेलाडीको नाम गत शुक्रवार सार्वजनिक गरेको थियो। उक्त २० खेलाडी मध्ये अलराउन्डर पृथु बास्कोटा भने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन्। उनले व्यक्तिगत कारण देखाउँदै राष्ट्रिय टोलीमा सहभागी हुन नसक्ने जानकारी दिएका हुन्।

शुक्रवार एक प्रेस विज्ञप्ति निकाल्दै ‘क्यान’ले जुलाई महिनामा स्पेनमा आयोजना हुने प्रतियोगिताका लागि बन्द प्रशिक्षण शुरु गर्न लागेको जानकारी दिएको थियो। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर पनि नेपाल फिर्ता आइसकेको हुँदा हिजो सोमबार राष्ट्रिय टोलीका सम्पूर्ण २० खेलाडीले ‘बायो बबल’मा ‘चेकइन’ गरेर ‘पी.सी.आर. टेस्ट’ गरेका छन्।


लिग-२ को प्रतियोगिता अन्तर्गत नेपालले ४ खेल खेलिसकेको छ। आफ्नो घरेलु मैदानमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्दा ४ अंक बटुल्न सफल भएको हो। नेपाल यस प्रतियोगिताको अंक तालिकामा ६औं स्थानमा रहँदा ओमान शीर्ष स्थानमा रहेको छ। ओमानले १० खेलमा १६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको अमेरिकाले १२ खेलमा १२ अंक जोडेको छ।

बन्द प्रशिक्षणमा बोलाइएका २० खेलाडी को नामावली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?