युरो कप खेल ३० : डेनमार्कले अन्तिम समयमा गर्यो अन्तिम १६ मा स्थान पक्का

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए राति सम्पन्न समूह ‘बी’को दोस्रो खेलमा डेनमार्कले रसियालाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

डेनमार्कको राजधानी कोपनहेगनमा भएको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीले शानदार जित निकाल्दै अन्तिम समयमा अन्तिम १६ को यात्रा सुनिश्चित गरेको हो। रसियाविरुद्धको खेल अघि समूह चरणको अन्तिम स्थानमा रहेको डेनमार्कलाई जित अपरिहार्य रहेको थियो।

तर अन्तिम खेलमा शानदार प्रदर्शनी देखाउँदै डेनमार्कले रसियाको पोस्टमा ४ गोल गर्न सफल भयो। पहिलो हाफको ३८औं मिनेटमा मिकेल डाम्सगार्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफ १-० गोलले आफ्नो पक्षमा पारेको डेनमार्कले दोस्रो हाफमा अर्को ३ गोल थप्यो। खेलको ५९औं मिनेटमा डेनमार्कका स्ट्राइकर युसुफ पोल्सेनले डेनमार्कको अग्रता दोब्बर बनाए।

खेलको ७०औं मिनेटमा कप्तान आर्टेम जाइउबाले पेनाल्टी मार्फत गोल गर्दा रसियाले खेलमा १ गोल फर्कायो। तर खेलको ७९औं र ८२औं मिनेटमा क्रमशः आन्द्रेस क्रिसटेन्सन र जोकिम माएलेले गोल गर्दा डेनमार्कले खेलमा ४-१ गोलको फराकिलो जित दर्ता गरेको हो।

 

यस जितसँगै डेनमार्क समूह ‘बी’को उप-विजेता टोली बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ भने रसिया समूह ‘बी’को पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?