युरो कप खेल २७ : समूह चरणमा नेदरल्यान्ड्सको शत प्रतिशत नतिजा

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए रातो भएको समूह ‘सी’को खेलमा नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियालाई ३-० गोलले पराजित गरेको छ।

नेदरल्यान्ड्सको राजधानी आमस्टरड्याममा भएको समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले जित निकाल्दै समूह चरणमा शत प्रतिशत जित निकाल्न सफल भएको हो। नेदरल्यान्ड्सका लागि गए रातिको खेलमा पहिलो गोल मेमफिस डिपाएले गरे।

पहिलो हाफको २४औं मिनेटमा डिपाएले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। शुरुवाती ४५ मिनेट आफ्नो पक्षमा राख्न सफल भएको नेदरल्यान्ड्सले दोस्रो हाफमा अर्को दुई गोल थप्यो।

दोस्रो हाफको ५१औं र ५८औं मिनेटमा नेदरल्यान्ड्सका कप्तान जिनी वाइनाल्डमले दुई गोल गर्दा नेदरल्यान्ड्सले खेलमा ३-० को जित निकालेको हो।

यसैगरी आफ्नो तीनवटै समूह चरणको खेलमा पराजय भोगेको नर्थ म्यासेडोनिया युरो कप २०२० बाट बाहिरिएको छ। नेदरल्यान्ड्स भने समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?