अस्मिता हत्या प्रकरणको छानविन गरी दोषीलाई कारवाही गर्न माग

लोकपथ
266
Shares

धनगढी-टेकसिँह धामी । शनिवार मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिकाका-८ जमरानी आधारभूत स्वास्थ्य ईकाइ केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको हत्या भएको भन्दै सुदूरपश्चिम प्रदेशसभा बैठकमा कारवाहीको माग गरिएको छ।

सोमवारको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यहरूले धामीको हत्या भएको र दोषीलाइ कारवाही गर्नुपर्ने माग गरेका हुन् ।

प्रदेशसभा बैठक सुरू भएलगत्तै एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहरा, माओवादीकी कुन्ती जोशी र नेपाली कांग्रेसका गोविन्दराज बोहराले घटनाको छानबिन गर्दै दोषीमाथि कारवाहीको माग गरेका हुन् ।

बैठकमा बोल्दै प्रदेशसभा सदस्य कुन्ती जोशीले धामीका हत्यारालाई शिघ्र पत्ता लगाइ कारबाही गर्न माग गरिन्। जोशीले हत्यारालाई हदैसम्मको कारबाही गर्न माग गर्दै पिडीत परिवारलाई क्षतिपूर्ति प्रदान गर्न र सन्तानको लालनपालनमा समेत सरकार गम्भिर बन्न प्रदेश र संघ सरकारलाई आग्रह गरिन् ।

यस्तै प्रदेश सभा सदस्य पठानसिंह बोहरा, भरत खड्का र गोविन्द बोहराले पनि धामीको हत्यारा जो सुकै भए पनि कानुनको दायरामा ल्याउनुपर्ने बताए।

प्रदेशसभा सदस्य बोहराले कर्तव्य पालनाको क्रममा भएको हत्याले भर्त्सना गर्दै तत्काल छानविन गरी दोषी पत्ता लगाउन माग गरे । बोहराले उक्त घटनाको प्रदेश सरकार र संघीय सरकारबाट छानविन हुनुपर्ने बताए । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरत खड्काले पनि डोटीमा पहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउन माग गरेका थिए ।

असार २ गते आधारभूत स्वास्थ्य इकाई केन्द्र जमरानीबाट कोरोनाको वचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन हिँडेकी अस्मिताको शव जंगलमा फेला परेको थियो । उनको शव तीन दिनपछि आव जोगबुढा अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

शरिरमा निलडाम देखिएको, शव फेला परेको स्थानसम्म घिसारेको जस्तो र उक्त स्थानमा मदिराको खालि बोत्तल फेला परेकाले उनको विभत्स हत्या गरिएको स्थानीयले बताइरहेका छन् । यद्यपि प्रहरीले आफ्नो अनुसन्धान सकेको छैन।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?