पृथु बास्कोटा राष्ट्रिय टोलीमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका ‘अलराउन्डर’ पृथु बास्कोटा बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन्।

नेपाल क्रिकेट संघ ‘क्यान’ले पृथु राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी नहुने जानकारी गराएको छ। पृथुले व्यक्तिगत कारण देखाउँदै राष्ट्रिय टोलीमा सम्मिलित नहुने जानकारी गराएका हुन्।

क्यानले शुक्रवार २० खेलाडी सम्मिलित विज्ञप्ति निकाल्दै आज सोमवारबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षण बोलाएको थियो। ‘आईसीसी विश्व क्रिकेट लिग-२’ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबिया बिचको त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको लागि क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।

शुक्रवार एक प्रेस विज्ञप्ति निकाल्दै ‘क्यान’ले जुलाई महिनामा स्पेनमा आयोजना हुने प्रतियोगिताका लागि बन्द प्रशिक्षण शुरु गर्न लागेको जानकारी दिएको थियो। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर पनि नेपाल फिर्ता आइसकेको हुँदा बन्द प्रशिक्षण आज सोमबारबाट शुरू भएको छ। आज राष्ट्रिय टोलीका सम्पूर्ण २० खेलाडीले ‘बायो बबल’मा ‘चेकइन’ गरेर ‘पी.सी.आर. टेस्ट’ गरेका छन्।

लिग २ को प्रतियोगिता अन्तर्गत नेपालले ४ खेल खेलिसकेको छ। आफ्नो घरेलु मैदानमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्दा ४ अंक बटुल्न सफल भएको हो। नेपाल यस प्रतियोगिताको अंक तालिकामा ६औं स्थानमा रहँदा ओमान शीर्ष स्थानमा रहेको छ। ओमानले १० खेलमा १६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको अमेरिकाले १२ खेलमा १२ अंक जोडेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?