छुपु मा छुपु हिलोमा धान रोपेर छोडौँला
बनाइ कुलो लगाइ पानी आएर गोडौँला
कवि दैवज्ञराज न्यौपानेले ‘किसानको रहर’ कवितामा लेखेका यी हरफहरुले असारको महिनाको महिमा प्रष्ट्याउँछन् ।
असारे मेलोमा हरेक किसानको मुखबाट असारे भाकासँगै यी हरफहरु पनि गुन्जिन्छन् । मानो रोपेर मुरी उब्जाउने महिना असारको छुट्टै महत्व छ । अझ नेपालजस्तो कृषिप्रधान देशका लागि यो अन्न उमार्ने र फलाउनको लागि रोप्ने, सार्ने महिना भएकोले १२ महिनामध्ये यो महिना बढी विशेष मानिन्छ ।
असारे बालिमा ठाँउ र हावा पानी अनुसार धान, कोदो, मकै इत्यादि लगाइने गरीन्छ । त्यसमध्ये देशको प्रमुख अन्न बालिको रुपमा धानलाई लिईन्छ त्यसैले धानको खेति बढि हुने गर्दछ ।
बर्खाको समय । सिमसिम पानी परिरहेको छ । त्यसमाथि असारको महिना । हिलाम्मे वातावरण । घरी चरक्क घाम चर्किन्छ घरी दर्केर पानी पर्छ ।
रोपारेहरुबीचको हल्ला अनि हाँसो मजाकसँगै असारे गित गुन्जिएको खेतको हिलाम्मे दृश्य निकै मनमोहक हुन्छ । भक्तपुर रामनगर फाँट, जहाँ धमाधम धान रोपाईँ भइरहेको छ ।
कान्छा महर्जन । उमेर ६७ वर्ष । बसोबास भक्तपुर, रामनगर फाँट ।
कान्छा मर्हजनले वर्षौदेखि धानखेति गर्दै आएका छन् ,असारको समयमा बिहान उठेदेखि कान्छालाई भ्याइ नभ्याई हुन्छ । बिउ काड्ने मान्छे खोज्ने, बाउसे, रोपार सबै कान्छाले जोहो गर्छन् । उनकी श्रीमती रोपाईको दिन खाना, खाजा बनाएर खेतसम्म पुर्याइदिने काम गर्छिन् ।
कान्छा महर्जन काठमाडौंका रैथाने हुन् । उनले थाहा पाउँदादेखि नै उनका बा आमाले धानखेति गर्ने गरेको र त्यहि खेतिलाई उनले पनि निरन्तरता दिएका हुन् । महर्जनले १ ठाँउको खेतबाट नै लगभग ७ देखि ८ मुरी धान भित्र्याउने गरेका छन् । उनको ३ ठाँउमा खेत छ ।
कान्छाको ६ जनाको परिवार छ । श्रीमती, छोरा बुहारी र २ जना नाती नातीनी । उनले वर्षभरी खानको लागी बजारे चामल अहिले सम्म किनेका छैनन् । आफ्नो परिवारलाई पुग्ने धान उब्जनी उनले आफँै गर्ने गरेका छन् । त्यति मात्र नभएर केहि धान बेच्ने पनि गरेको उनले बताए ।
कान्छाले धान रोप्नु भन्दा अगाडी खेतमा तरकारी रोप्छन् र असार शुरु हुने बित्तिकै धान रोप्ने तरखर गर्न थाल्छन् । जेठको पहिलो हप्तातिर धानको बिउ राख्ने गरेको छु । त्यसलाई ब्याड भनिन्छ । त्यसपछि कहिलेकाहिँ आवश्यकता अनुसार पानी लगाउदै गर्नुपर्छ अनि लगभग १ महिनामा बिउ तयार हुन्छ अनि रोप्ने हो ।
गाउँ घरको रोपार्इँ र शहरको रोपाईँ धेरै फरक हुने रहेछ ।
यत्रो खेत आफँैले खनेर कसरी धान रोप्न योग्य बनाउनु हुन्छ ? गाउँघरमा त जोत्नलाई गोरु, खन्नलाई कोदाली, आलोपालो रोपार सबै तयारी हुन्छ कुलोको पानी खै त ?
उनले हातले आली मिलाउँदै हाँस्दै भने, शहर र गाउँको रोपाईँमा धेरै फरक हुन्छ । यहाँ गोरु पाल्न सम्भव हँुदैन त्यसैले खेत खन्ने मेसिन प्रयोग गर्छौ । पानी त आकाश कै पर्खिन पर्छ । आकाशको भर हुँदैन त्यसैले इनारबाट मोटरले तानेर सिंचाई गर्ने गरेका छौँ ।
त्यहाँको माहोल झनै रमाइलो बन्दै थियो बाउसेहरु आली लगाउँदै थिए भने कोहि विभिन्न औजारको सहायताले धान रोप्ने फाँटलाई तयारी गर्दै थिए । १० वटी रोपार गफिँदै धानका गाभा लहर मिलाएर रोप्दै थिए ।
रोपारमध्ये अम्बिका श्रेष्ठ बाउसे काममा पनि खप्पिस, छेउकुना खन्ने, फ्याउरी लाउने, र्छिकुनी लगाउने सबैतीर अब्बल ।
रोपाईँ धमाधम हुँदैछ। सामान्यतया खन्ने, जोत्ने र आली लगाउने काम पुरुषको र धान रोप्ने काम महिलाले गर्ने भएपनि हिजोआज महिलाहरु पनि आलि लगाउने, खन्ने, सम्याउने काममा सक्रिय छन् ।
खाजा खाने समय भयो । कान्छाकी श्रीमती झोलामा खाजा बोकेर मुस्कान दिँदै गर्हाभरी मुस्कुराएका धानको लहर हेर्दै आलीआली बिस्तारै आउँदै छिन् । खेतको छेउमा भारी बिसाउँदै खाजा खान आउनु है भन्दैछिन् ।
असारको प्रख्यात खाजा चाम्रे र चना आलु फ्राइ । बाउसे रोपार खाजा खाने तरखरमा छन् । आकाश धुमिल भइसकेको छ ।
यस्तो महामारीको समयमा पनि किसान चर्को घामको ताप वा घरीघरी रुझाउने पानीको पर्वाह नगरी दुख गर्दैछन् । तर विडम्बना नेपालमा अझै पनि केहि मानिसहरुको लागि खाने अन्न छैन । कुल कृषि उत्पादनमा २० प्रतिशत योेगदान रहेको धानबाली अधिकांश स्थानमा मनसुन शुरु भएपछि लगाईन्छ ।
धान रोपाईँमा परम्परागत उपाय सँगसँगै आधुनिक प्रविधि पनि प्रयोग हुन थालेका छन् । गाउँघरमा समेत ट्याक्टरको प्रयोग गरिन्छ । गोरु साउने चलन हराउँदै गएको छ । कतिपय ठाउँमा युवाहरु परदेशीएका कारण खेतबारी बाँझै पनि छन् । यसको दूरगामी असरबारे बुझि युवालाई स्वदेशमा नै रोजगारी दिई नेपालका खेतबारी र गर्हाहरुमा सुन फलाउन सक्नेतर्फ सरकारको ध्यान जान ढिला भईसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया