राउटेका लागि एकीकृत नीति बनाइँदै

RSS
70
Shares

वीरेन्द्रनगर । फिरन्ते जीवन बिताउँदै आएका कर्णालीका राउटे समुदायका लागि प्रदेश सरकारले एकीकृत नीति ल्याउने तयारी गरेको छ । लोपोन्मुख राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति बनाउने तयारी गरेको हो ।

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले लोपोन्मुख राउटे समुदायको संरक्षण राज्यको दायित्व भएको बताए। एकै ठाउँमा नबस्ने, घुमन्ते समुदाय भएकाले राउटेको संरक्षणका लागि छुट्टै नीति आवश्यक देखिएको उनको भनाइ छ । मन्त्री बुढा क्षेत्रीले राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको बताउँदै बस्ती प्रवेशमा निषेध, राहतको एकद्वार प्रणाली, सुरक्षाको प्रबन्ध तथा छाना, नाना र खानाको व्यवस्थापनलगायतका विषयहरु नीतिभित्र समेटिने बताए ।

‘‘राउटेका आफ्नै मूल्य, मान्यता र संस्कृतिको संरक्षण गर्दै उनीहरुको सामाजिकीकरणमा मन्त्रालयले काम गर्नेछ’’, उहाँले भन्नुभयो, ‘‘पछिल्लो समय राउटे समुदायका दुई युवतीमाथि बाह्य समुदायका व्यक्तिले गरेको बलात्कार घटनाले बस्तीको सुरक्षा र बाह्य व्यक्तिहरुको प्रवेश निषेध आवश्यक रहेको महशुस भएको छ ।’’ उनले बालबालिकामा रहेको कुपोषण न्यूनीकरण गर्न र उनीहरुको खानपानमा ध्यान दिन सरोकारवाला निकायहरुलाई निर्देशन दिए ।

सो मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले लोपोन्मुख समुदाय कर्णालीको पहिचान भएकाले उनीहरुको संरक्षण आवश्यक रहेको बताए । ‘‘नेपालको एकमात्रै फिरन्ते समुदायको संरक्षण राज्यको दायित्व हो’’, सचिव काप्रीले भने, ‘‘परम्परागत संस्कृति, संस्कार र मान्यतालाई आत्मसाथ गर्दै राउटेसम्बन्धी नीति तयार गरिरहेका छौँ ।’’

प्रमुख जिल्ला अधिकारी छवि रिजालले राउटे समुदायका युवतीमाथि भएको घटनापछि बस्ती ‘शील’ गरिएपछि धेरै विकृतिको अन्त्य भएको बताए। उनले युट्युव, फेसबुक, टिकटकलगायत बनाउन जानेहरुका कारण पनि राउटे समुदायको संस्कृति, परम्परा र मान्यतामाथि खेलवाड भइरहेको बताए। गुराँस गाउँपालिकाका उपाध्यक्ष दीपा विसीले कर्णाली प्रदेश सरकारले राउटेको अभिभावकत्व लिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?