प्रधानमन्त्री ओली २३ चैतदेखि भारत भ्रमणमा

काठमाडौँ, ९ चैत- प्रधानमन्त्री केपी ओलीले २३ चैतमा भारत भ्रमण गर्ने तय भएको छ । भ्रमण तीन दिन अर्थात् २५ गतेसम्म हुनेछ । दुई देशका परराष्ट्र मन्त्रालयको आन्तरिक गृहकार्यपछि ओलीको भ्रमण मिति तय भएको हो ।प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच २४ चैतमा हैदराबाद हाउसमा भेटवार्ता हुने बताइएको छ । सोही दिन ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वैंकया नायडुसहित भारतीय उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यसअघिका प्रधानमन्त्रीको भ्रमणमा दिल्लीबाहिरसमेत जाने कार्यक्रम हुने गरेकामा ओली भने २५ चैतमा दिल्लीबाटै स्वदेश फर्किने कार्यक्रम छ । तर, दुवै देशले औपचारिक रूपमा भ्रमणको मिति घोषणा गर्न बाँकी छ ।दिल्लीस्थित नेपाली दूतावासका राजनीतिक काउन्सिलर हरि ओडारीले प्रधानमन्त्री भ्रमणको तयारी भइरहेको, तर मिति नटुंगिएको बताए । दिल्लीस्थित कार्यबाहक राजदूत भरतकुमार रेग्मी काठमाडौं गएर प्रधानमन्त्रीको भ्रमण तयारीकै लागि दिल्ली फर्किंदै छन् । भ्रमणमा हुने औपचारिक एजेन्डाबारे गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?