युरो कप खेल २६ : समूह चरणबाटै बाहिरियो टर्की

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत आईतवार भएको दोस्रो खेलमा स्विटजरल्यान्डले टर्कीलाई ३-१ गोलले पराजित गर्दै टर्कीको युरो कप यात्रा अन्त्य गरेको छ।

आजरबैजानको बाकु ओलम्पिक स्टेडियममा भएको समूह ‘ए’को खेलमा स्विटजरल्यान्डले शुरुवाती ६ मिनेटमै अग्रता लिएको थियो। स्टेभन जुबेरको पासमा स्ट्राइकर सेफेरोभिचले गोल गर्दा स्विस टोलीले खेलमा अग्रता लिएको थियो।

पहिलो हाफको २६औं मिनेटमा लिभरपुल तथा स्विस टोलीका स्टार खेलाडी जर्दान शाकिरीले अर्को गोल थपे। उनले फेरी स्टेभन जुबेरकै पासमा गोल गर्दा स्विट्जरल्यान्डले पहिलो हाफ २० गोलको अग्रतामा अन्त्य गरेको थियो।

दोस्रो हाफमा टर्कीले गोल फर्कायो। खेलको ६२औं मिनेटमा टर्कीका इरफान काहवेचीले गोल गर्दा टर्की खेलमा फर्कियो। तर खेको ६८औं मिनेटमा स्विट्जरल्यान्डले अग्रता पुनः दोब्बर बनायो।

शाकिरीले फेरि जुबेरको पासमा गोल गर्दा जित स्विट्जरल्यान्डको पक्षमा गएको हो। यसैगरी समूह चरणको तीनवटै खेलमा हार बेहोरेको टर्की युरो कप २०२० बाट बाहिरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?